Sagun Khabar
बैतडीमा सवारी दुर्घटना बढ्दै, मंसिरमा मात्रै दुर्घटनामा परेर ६ जनाको मृत्यु 
फाइल फोटो

बैतडी –बैतडीमा पछिल्लो समयमा सवारी दुर्घटना बढ्दै गएको छ । मंसिर महिनामात्रै सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंसिर महिनामा ४ ओटा जिप दुर्घटना परेका र ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

यस्तै यो महिनामात्रै सवारी दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । चालु आर्थिक बर्षको अहिले सम्म १३ ओटा सवारी दुर्घटना भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

यो आर्थिक बर्षको कार्तिक सम्मको सवारी दुर्घटनामा मान्छेको ज्यान नगएको भएपनि मंसिरमा मात्रै सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । साउन यता सवारी दुर्घटनामा परेर २८ जना घाइते भएका प्रहरी निरीक्षक जोशीले बताए । 

साउन यता बैतडीमा ७ ओटा जिप, २ ओटा मोटरसाइकल, एक ट्याक्टर, एक ट्याक्सी, एक अटो र एक बस दुर्घटनामा परेका प्रहरीले जनाएको छ । 

बैतडीमा गएको आर्थिक बर्ष २०७८÷७९ मा १३ ओटा सवारी दुर्घटना भएका थिए । विभिन्न समयमा भएका सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको थियो । यस्तै दुर्घटनामा परेर गत आर्थिक बर्षमा २३ जना घाइते भएका थिए । 

कच्ची सडक, ट्राफिक नियमको पालना नहुनु, प्राविधिक समस्या लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएको प्रहरीले जनाएको छ । यसका साथै क्षमता भन्दा बढी यात्रु बोक्नु, तीव्र गतिमा सवारी साधन चलाउँदा समेत दुर्घटना बढ्दै गएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update