Sagun Khabar
हानिकारक प्रचलन हटाउँदै बैतडीका किशोरकिशोरी 

बैतडी –बैतडीका किशोरकिशोरीहरु हानिकारक प्रचलन हटाउनका लागि सक्रिय भएका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका रुपान्तरण समूहमा आवद्ध भएका किशोरकिशोरीहरु हानिकारक प्रचलन हटाउन सक्रिय भएका हुन् । 

जिल्लामा अहिले ४८ ओटा किशोरकिशोरी समूहमा रुपान्तरण कक्षा सञ्चालनमा रहेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा भीएसओ र पिसवीनले स्थानीय तहहरुसंगको सहकार्यमा रुपान्तरण कक्षा सञ्चालन गरिरहेको हो । रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीहरुले समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि पहल गरिरहेको सिगास गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष कृष्णसिंह धामीले जानकारी दिए । 

समाजमा रहेका बालविवाह, महिनावारी हुँदा गरिने विभेद लगायतका हानिकारक प्रचलन अन्त्यका लागि आफूहरुले रुपान्तरण कक्षा मार्फत पहल गरिरहेको सिगास ९ स्थित उदय किशोरकिशोरी समूहकी सहजकर्ता कविता ऐरले बताइन् । उनले भनिन् ‘रुपान्तरण कक्षामा सहभागी भएपछि हामीले धेरै कुरा सिक्यौं । हामीले सिकेका कुरा गाउँमा भन्ने गरेका छौं । अहिले विभिन्न खालका कुप्रथाहरु हट्दै गएका छन् ।’

रुपान्तरण कक्षामा सहभागी भएपछि बालविवाहले पार्ने असरको बारेमा थाहा पाएको र आफूले सिकेका कुरा गाउँमा समेत सिकाउने गरेको सिगास ९ की गौरी विश्वकर्माले बताइन् । उनले भनिन् ‘रुपान्तरण कक्षामा हामीले बालविवाहले पार्ने असरका साथै महिनावारी सरसफाइका बिषयमा समेत छलफल गर्यौं । रुपान्तरण कक्षामा सिकेका कुरा हामीले गाउँघरमा पनि सिकाउने गरेका छौं ।’

समाजमा रहेका विभिन्न खालका हानिकारक प्रचलनहरुले किशोरकिशोरीहरुको समग्र जीवनमा समस्या ल्याइरहेकाले त्यस्ता प्रचलन हटाउनका लागि सक्रिय भएको डिलाशैनी १ की अनुष्का भट्टले बताइन् । 

गाउँमा हुने गरेका बालविवाह रोक्नका लागि आफूहरुले सामूहिक रुपमा पहल गर्ने गरेको सिगास ९ का किरण चुनाराले बताए । बालविवाह लगायतका हानिकारक प्रचलन रोक्नका लागि आफूहरु सक्रिय रहेको उनले बताए । 

बालविवाह एक समस्याको रुपमा रहेका यसको अन्त्यका लागि पालिकाले समेत पहल गरिरहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । बालविवाह अन्त्यका लागि सिगास गाउँपालिकाले रणनैतिक योजना समेत बनाइसकेकाले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उनले बताए । उनले भने ‘हामीले पहिला खुला दिसामुक्त अभियान जसरी सञ्चालन गरेका थियौं । बालविवाह अन्त्यका लागि पनि त्यसरी नै सामूहिक रुपमा अभियान सञ्चालन गर्न आवश्यक छ ।’
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update