
बैतडी –देश संघीयतामा गएपछि बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा तोकिएको थियो । कुनैपनि संरचना नभएको ठाउँमा केन्द्र तोकिएपछि सेवा प्रवाहमा निकै समस्या हुने गरेको थियो । तर गएको ५ बर्षमा गर्जेको स्वरुप फेरिएको छ ।
गाउँपालिकाको केन्द्र गर्जे सम्म अहिले कच्ची सडकको पहुँच पुगेको छ भने भौतिक संरचना निर्माण समेत भएका छन् । गाउँपालिकाले आफ्नै भवन निर्माण गरिसकेको छ भने कर्मचारी आवास, अध्यक्ष र उपाध्यक्ष आवास भवन समेत निर्माण गरेर प्रयोगमा ल्याइसकेको छ ।
यस्तै गर्जेमा प्रहरीचौकीको भवन निर्माण गरेर प्रहरीको सेवा समेत सुचारु भइसकेको छ । पानीको निकै समस्या रहेको गर्जेमा लिफ्ट प्रणाली मार्फत खानेपानीको व्यवस्था गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने ‘पहिलो कार्यकालमा गाउँपालिकाको केन्द्रमा सबैको पहुँच पुर्याउन पहल गरिएको छ । हामीले आफ्नै भवन निर्माण गर्न सफल भएका छौं । आवश्यक अन्य भौतिक संरचना निर्माणमा पनि हामी सफल भएका छौं ।’
भौतिक संरचना नभएको ठाउँमा केन्द्र सञ्चालनमा समस्या रहेका बेला भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएर पहिलो कार्यकालमा काम गरेको अध्यक्ष धामीको दाबी छ । उनले भने ‘हामीले सडक नभएको ठाउँमा टाढाबाट निर्माण सामग्री र पानी ढुवानी गरेर भवन निर्माण गरेका छौं । कम्तीमा पालिकाको केन्द्रलाई व्यवस्थित बनाउन सफल भएका छौं ।’
चालु आर्थिक बर्षमा गाउँपालिकाको केन्द्रमा बहुउद्देश्यीय भवन निर्माण र अत्याधुनिक सभा कक्ष भवन निर्माणका लागि बजेट विनियोजन गरिएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले बताए । बहुउद्देश्यीय भवन निर्माणका लागि ६३ लाख र सभा कक्ष निर्माणका लागि ६३ लाख बजेट विनियोजन गरिएको उनले बताए ।