बैतडी –बैतडीले थप एकजना प्रदेश सांसद पाएको छ । समानुपातिक कोटाबाट एमालेले जानकी ऐर बमलाई सांसद चुनेसंगै बैतडीले थप एक जना प्रदेश सांसद पाएको हो । एमालेकी प्रदेश कमिटि सदस्य समेत रहेकी जानकीलाई प्रदेश सांसदमा छनौट गरिएको हो ।
निर्वाचन आयोगले शनिबार सम्म दलहरुलाई समानुपातिक सांसदको नाम दिन समय दिएकोमा एमालेले सुदूरपश्चिम प्रदेश सभामा जानकीलाई पनि पठाएको हो ।
तत्कालिन नेकपा माओवादीको युद्धकालमा भूमीगत जीवन समेत बिताएकी जानकी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पुर्चौंडी नगरपालिकाको उपप्रमुख पदमा चुनिएकी थिइन् ।
माओवादी केन्द्र र एमाले एकता भएर बनेको नेकपा अलग भएपछि उनी एमालेमै आवद्ध भएकी थिइन् । एमालेमा आवद्ध भएकी जानकी ऐर बम अहिले पार्टीको प्रदेश कमिटि सदस्य समेत रहेकी छन् ।
यो भन्दा पहिला प्रत्यक्ष निर्वाचनबाट बैतडीमा दुई जना प्रदेश सांसद निर्वाचित भइसकेका छन् । प्रदेश सभा क्षेत्र नम्बर १ बाट एमालेका सुरेन्द्रबहादुर पाल र प्रदेश सभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका शिवराज भट्ट निर्वाचित भइसकेका छन् । यो संगै सुदूरपश्चिम प्रदेश सभामा बैतडीबाट तीनजना सांसदको प्रतिनिधित्व हुने भएको छ ।




