बैतडी –केदारेश्वर किशोरकिशोरी समूह, बैतडी र नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘वर्तमानमा जलवायु परिवर्तन र भविष्य’ विषयक कविता प्रतियोगिता सम्पन्न भएको हो ।
अनलाइन मार्फत दुई चरणमा प्रतियोगिता सम्पन्न भएको केदारेश्वर किशोरकिशोरी समूहका सहजकर्ता एवं नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कार्य समितिका सचिव प्रकाश बडूले बताए ।
२१ जना बालकविहरुको सहभागिता रहेको प्रतियोगितामा टिनु जोशी प्रथम, सुनिल बुढा द्वितीय र मनस्वी उपाध्याय तृतीय भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद २ हजार ५ सय सहित प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार सहित प्रमाणपत्र र तृतीय हुनेलाई नगद १ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै प्रतियोगितामा सहभागी हुने सबैलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको बडूले बताए ।
प्रतियोगिताको निर्णायक मण्डलमा गजलकार तारा पल्लवी र भूपी सरोबर रहेका थिए । नवसर्जक साहित्य चौतारी नेपालका प्रमुख संरक्षक दिपक गौतम, नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक प्रविन चन्दको सहभागिता रहेको प्रतियोगितामा सुदूरपश्चिम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशी प्रमुख आतिथी रहेका थिए । बाल कविहरुको क्षमता अभिवृद्धिमा कविता प्रतियोगिताले सहयोग पुग्ने जोशीले बताए ।




