Sagun Khabar
बालविवाह अन्त्यका लागि  दशरथचन्द नगरपालिकाले रणनैतिक योजना बनायो 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएको छ । नगरपालिकाभित्र हुने बालविवाहलाई रोक्नका लागि रणनैतिक योजना बनाएको दशरथचन्द नगरपालिकाले जनाएको छ । 

बालविवाह एक सामाजिक समस्याको रुपमा रहेकाले त्यसलाई रोक्नका लागि पालिकाले रणनैतिक योजना बनाएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन् ‘हाम्रो समाजमा बालविवाह कायमै रहेको छ । बालविवाह रोक्नका लागि हामीले योजना बनाएर अघि बढ्ने प्रयास गरेका छौं ।’

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भिएसओ र पिसवीन समेतको सहकार्यमा बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाइएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए । बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाइएको र अब पौषमा हुने नगरसभाबाट यसलाई पारित गरिने उनले बताए । 

रणनैतिक योजना अनुसार कार्ययोजना बनाएर त्यसका लागि आवश्यक बजेट समेत विनियोजन गर्ने प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । 

सरकारले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले सोही अनुसार बालविवाह अन्त्यका लागि पालिकाहरुले रणनैतिक योजना बनाइरहेका छन् । बैतडीमा यसअघि पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाइसकेका छन् । बालविवाह एक हानिकारक प्रचलनको रुपमा रहेकाले यसलाई हटाउनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जोड दिए । 

बैतडीमा रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेका पालिकाहरुमा बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने कार्यमा सहयोग गरिरहेको पीसवीनका फिल्ड सुपरभाइजर कृष्णदत्त भट्टले बताए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update