Sagun Khabar
ठेकेदारको लापरवाहीले बैतडीमा सवस्टेशन निर्माण कार्य अलपत्र !

बैतडी –ठेकेदारको लापरवाहीका कारण बैतडीको पाटन र मेलौली विद्युतको सवस्टेशन राख्ने कार्य अलपत्र परेको  छ । नेपाल विद्युत प्राधिकरणले आर.के.इन्टरनेश्नलसंग सम्झौता गरेर तल्लोसोराड क्षेत्रमा विद्युत विस्तार गर्ने लक्ष्य लिएको थियो । २०७६ को जेठमा आर. के. इन्टरनेश्नलले १८ महिनाभित्र काम सक्ने गरेर सम्झौता गरेको भएपनि अहिले सम्म काम नै शुरु नगरेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाका प्रमुख जगदीश जोशीले जानकारी दिए  । 

सवस्टेश्न निर्माणको ठेक्का पाएका निर्माण कम्पनीका प्रमुख आर. के. अग्रवाल तराईका उखु किसानको भुक्तानी नदिने ठेकेदार मध्येका एक हुन् । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युतको राष्ट्रिय प्रशारण पुर्याउनका लागि सवस्टेश्न राख्ने कार्य अघि बढाउन ठेक्का सम्झौता भएको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

तर सम्झौता भएको एक बर्ष बितिसक्दा समेत काम शुरु हुन सकेको छैन् । लामो समय सम्म ठेकेदारले काम नगरेकाले ठेक्का रद्द गर्नका लागि आफूहरुले सिफारिश गरेको प्रमुख जोशीले बताए । उनले भने ‘१८ महिनामा काम सक्ने लक्ष्य सहित ठेक्का सम्झौता भएको हो । तर ठेक्का भएको एक बर्ष बितिसक्दा समेत काम शुरु हुन सकेको छैन् । त्यसैले हामीले माथिल्लो निकायमा पत्राचार गरिसकेका छौं ।’

एक महिनाभित्रै नयाँ ठेक्का आह्वान गर्ने वा उसैबाट काम शुरु गराउने भन्ने बिषयमा टुंगो लाग्ने जोशीको भनाई छ । पाटनमा सवस्टेशन निर्माणका लागि साढे ११ करोड र मेलौलीमा सवस्टेशन निर्माणका लागि साढे १२ करोडको ठेक्का आह्वान भएको थियो । 

सवस्टेश्न निर्माणको काममा ढिलाई भएकाले तल्लोसोराडमा विद्युत विस्तारमा पनि बाधा पुगेको छ । लाइन विस्तारको काम भईरहेको भएपनि सवस्टेशनको काम नभएकाले तल्लोसोराडमा विद्युत विस्तारमा समस्या भएको उनको भनाई छ । जोशीले भने ‘अब नयाँ बनेको लाइनलाई ११ केभी चार्ज गरेर केही समयका लागि त्यसैबाट विद्युत प्रवाह गर्छौं । तर सवस्टेश्न निर्माण नहुँदा बेलाबेलामा विद्युत अवरुद्ध हुने समस्या भने आईरहनेछ ।’

पाटनदेखि मेलौली सम्म लाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसंग सम्झौता भएर काम भईरहेको प्रमुुख जोशीले जानकारी दिए । लाइन विस्तारको काम भने अन्तिम चरणमा पुगेको उनले बताए । लाइन विस्तारका लागि २ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो । 

ठेकेदारले समयमा काम नगर्दा स्थानीयबासी भने निराश भएका छन् । सवस्टेशन निर्माणको कामको ठेक्का भएको बेला खुसी भएको भएपनि एक बर्ष सम्म काम अघि नबढ्दा निराश भएको मेलौलीका स्थानीय केशवसिंह भाटले बताए । उनले भने ‘नेपालमा यो रोग जस्तै भएको छ । ठेक्का लिने तर समयमा काम नगर्ने । यस्ताहरुलाई कारवाही हुनुपर्दछ ।’
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update