Sagun Khabar
बैतडीमा केही खुकुलो पारेर निषेधाज्ञा थपिने 

बैतडी– बैतडीमा केही खुकुलो पारेर निषेधाज्ञाको अवधि थप्ने तयारी भएको छ । आइतबार बसेको जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप्नका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । जिल्लामा सोमबार सम्म यसअघिकै आदेश अनुसार निषेधाज्ञा जारी रहेकाले असार १५ सम्म निषेधाज्ञा थप्ने गरेर आदेश जारी हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनले भने ‘बैठकमा दुई हप्ता अझै निषेधाज्ञा थप्ने निर्णय भएको छ । त्यसै अनुसार आदेश जारी हुन्छ ।’

कोरोना भाईरसको संक्रमणदर केही कम भएकाले निषेधाज्ञामा पहिलाको भन्दा खुकुलो पारिने तयारी भएको छ । बैंक तथा बित्तीय संस्थाहरुलाई दिउँसो १ बजे सम्म खोल्न पाइनेछ भने खाद्यान्न, तरकारी, फैन्सी  पसल, कपडा पसल र निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि १२ बजे सम्म खुला राख्ने तयारी भएको छ । यस्ता पसलका पसलेहरुको अनिवार्य एन्टीजेन परीक्षण गर्ने निर्णय भएको सूचना अधिकारी भारतीले बताए । उनले भने ‘पसल खुला राख्ने व्यापारीको अनिवार्य एन्टीजेन परीक्षण गर्छौं । निशुल्क रुपमा हामीले चेकजाँचको व्यवस्था मिलाएका छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै विकास निर्माणका कामहरु सञ्चालन गर्नका लागि सम्बन्धित आयोजना प्रमुख सिफारिशमा सञ्चालन हुनेछन् भने त्यसमा प्रयोग हुने सवारी साधनहरु पनि सम्बन्धित आयोजना प्रमुखकै सिफारिशमा सञ्चालन हुनेछन् । 

होटेल,रेष्टुरेन्ट, नाइ पसल, सार्वजनिक यातायात र सार्वजनिक सेवा भने निषेधाज्ञाको अवधिमा बन्द रहने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले भने ‘निषेधाज्ञा खुकुलो भएपनि स्वास्थ्यका मापदण्ड अपनाउनु आवश्यक छ । संक्रमणको जोखिम कायमै रहेको छ ।’

जिल्लामा गएको वैशाख २० गतेदेखि जारी निषेधाज्ञाले संक्रमणदर केही घटेको भएपनि मजदुर वर्गलाई भने समस्या भएको छ । लगातारको निषेधाज्ञाले छाक टार्न मुस्कील भएको उनीहरुको भनाई छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update