Sagun Khabar
युक्रेनमा हेलिकप्टर दुर्घटना,  मन्त्रीसहित १६ जनाकाे ज्यान गयाे

युक्रेनकाे राजधानी किएभको बाहिरी भेगमा रहेकाे शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परि युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना बालबालिकाकाे पनि ज्यान गएकाे अधिकारीहरूले बताएका छन् । 

राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ । आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारी, आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ । 

अनलाइनमा पोस्ट गरिएको एउटा भिडियोमा हेलिकप्टरमा आगो लागेको देखिन्छ भने रुवावासी भएको आवाज सुनिन्छ । दुर्घटनाकाे सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन ।

४२ वर्षीय आन्तरिक मामिला मन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुनुहुन्छ । उहाँ दुई वर्षअघि मन्त्री नियुक्त हुनुभएको थियो । 

दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्