Sagun Khabar
बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा 
फाइल फोटो

बैतडी –बैतडीका सबै स्थानीय तहहरु पहिरोको जोखिममा रहेका छन् । १० ओटा स्थानीय तह रहेको बैतडीमा ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले आइतबार पारित गरेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा जिल्लाका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको छ । 

मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका,दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पहिरो जोखिम रहेको भएपनि अन्य स्थानीय तहको तुलनामा कम जोखिम रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘हामीले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएका छौं । सो अनुसार पहिलो प्रकोपको रुपमा पहिरो देखिएको छ ।’

कोभीड पछिको दोश्रो प्रकोपको रुपमा जिल्लामा पहिरोको जोखिम रहेको बताइएको छ । यस्तै पहिरो पछि जिल्लाका सबै स्थानीय तहमा बाढी तथा नदी कटानको जोखिम रहेको पाइएको छ । 

पछिल्लो समयमा जथाभावी डोजरले खनेका सडकका कारण जिल्लामा पहिरोको जोखिम बढ्दै गएको छ । बिना स्टमेट खनिएका सडकले बर्षातको समयमा पहिरोको रुप लिन थालेका हुन् । प्राकृतिक रुपमै पहिरो जाने भन्दा जथाभावी सडक काटिएका कारणले जिल्लाभरी पहिरोको जोखिम बढेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयले बताए । उनले भने ‘हामीले केही दिन अघि पञ्चेश्वरको बस्कोटमा गएको बाढी, पहिरोको उदाहरण हेरौं । सडकको माटो बगेर बस्ती नै जोखिममा परेको छ । त्यसैले हामीले सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्रै गरौं भन्ने मेरो आग्रह छ ।’

भिरालो जमीनमा बिना स्टमेट काटिएका सडकले जिल्लाभरी पहिरोको जोखिम बढेको हो । यस्तै नदी किनारका क्षेत्रमा बाढी र कटानको समस्या रहेको बताइएको छ । 

जिल्लामा हुन सक्ने सम्भावित प्रकोपको विश्लेषण गरेर क्षति न्यूनीकरणका लागि गर्नुपर्ने कार्य योजनामा समेटिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए । 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update