Sagun Khabar
भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख

काठमाडौं - नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर, जोखिमपूर्ण अवस्थाबाट सुधारमा आएको देखिएको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

सन् २०२२ को तथ्यांकमा भने नेपालले मध्यम जोखिमको अवस्थामा सुधार गरेको छ । नयाँ सूचकाङ्‍कमा १२१ मुलुकको भोकमरीको अवस्था सार्वजनिक गरिएको छ । जहाँ नेपालले १९.१ अंकका साथ ८१औं स्थानमा छ । सन् २०१४ यता नेपालले भोकमरी अवस्थामा २ अंकको सुधार गरेको छ । 

प्रतिवेदनअनुसार भोकमरीको जोखिम कम रहेको मुलुकको सूचीमा बेलारुस एक नम्बरमा छ भने १२१औं नम्बरमा यमन छ । यमनमा भोकमरी दर उच्च रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा बढी जोखिम कर्णाली प्रदेशमा देखिएको छ । कम जोखिम गण्डकी प्रदेशमा छ । कम भोकमरीदर रहेको प्रदेशमा क्रमशः बागमती र प्रदेश नम्बर एक हुन् । यी प्रदेशमा भोकमरीदर २२.९ र २४.९ छ । मधेश प्रदेशमा भोकमरी दर ३४.२ छ भने लुम्बिनी प्रदेशको ३५.५ छ । यस्तै सुदुरपश्चिम प्रदेशको भोकमरीदर ४०.९ छ । नेपालको कर्णालीसँगै सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका एक तिहाइ भन्दा धेरै बालबालिका भोकमरीका कारण पिडित देखिएको छ ।

यी क्षेत्रमा बहुआयामिक गरिबीका दर उच्च रहेका कारण बालबालिकामा कुपोषण दर पनि उच्च भएको प्रतिवेदनमा उल्लेख छ । कठिन भौगोलिक अवस्था, कमजोर विकास पूर्वाधार, सञ्चार सुबिधा, जनचेतनाको कमी जस्ता कारणबाट पौष्टिक खाद्यन्नको आवश्यकता पूर्ति गर्न कठिन भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

भारतभन्दा नेपालमा कम भोकमरी

विश्व भोकमरी सूचकाङ्‍कमा दक्षिण एशियामा नेपाल अन्य मुलुकको तुलनामा माथि देखिएको छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपाल भन्दा कमजोर देखिएका छन् ।

बंगलादेश १९.६ अंकसहित ८४औं स्थानमा बंगलादेश छ भने २६.१ अंकसहित सूचीको ९९औं स्थानमा पाकिस्तान छ । यस्तै २९.१ अंकसहित भारत विश्व भोकमरीयुक्त मुलुकको १०७ औं स्थानमा छ भने २०.९ अंक पाएको अफगानिस्तान दक्षिण एशियाली क्षेत्रमा ११०औं सूची सहित अन्तिममा छ ।अनलाइन खबरबाट 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update