बैतडी –जिल्ला अस्पताल बैतडीलाई ५० शैय्यामा स्तरोन्नतिको माग गर्दै मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन पत्र बुझाइएको छ ।
अस्पताल व्यवस्थापन समितिकातर्फबाट मुख्यमन्त्री भट्टलाई सोमबार ज्ञापन पत्र बुझाएको बैतडी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्री (जगदीश)ले बताए ।
जिल्ला अस्पताल बैतडीसँग ५० शैय्या सञ्चालनका लागि भौतिक संरचना भएकाले अस्पताललाई स्तरोन्नति गर्नुपर्ने प्रदेश सरकारसँग माग गरेको अध्यक्ष क्षेत्रीले बताए ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले बैतडी अस्पताललाई स्तरोन्नति गर्नका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
बैतडी अस्पताल अहिले १५ शैय्याको अस्पतालको रुपमा सञ्चालनमा रहेको छ । अस्पताललाई स्तरोन्नति गर्नुपर्ने माग गर्दै तेश्रो पटक ज्ञापन पत्र बुझाइसकेको अध्यक्ष क्षेत्रीले बताए । यसअघिको सरकारले ल्याएको नीति तथा कार्यक्रममा अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गरिने कुरा उल्लेख गरिएको छ ।
तर भौगोलिक विकटता, बिरामीको चाप लगायतका कारणले बैतडी अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्नुपर्ने आफूहरुको माग रहेको अध्यक्ष क्षेत्रीले बताए ।




