Sagun Khabar
बैतडीका एक युवक सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो प्रसारण गरेपछि पक्राउ

बैतडी - बैतडीका एक युवक सामाजिक सहिष्णुता तथा जातीय सद्भावमा आघात पुर्‍याउने किसिमका अभिव्यक्ति समेटिएको भिडियो सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोपमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन्।

भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गर्ने आशयका भिडियो सामग्री तयार गरी सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रसारण गरिएको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको थियो। सामाजिक सञ्जालमा उक्त भिडियो सामग्री प्रसारण भएपछि साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा भिडियो सामग्री प्रसारण गर्ने व्यक्तिको पहिचान खुलेपछि ब्यूरोबाट खटिएको टोलीले मडैलाई भदौ २० गते पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका मडैलाई विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ। प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा जात, समुदाय तथा व्यक्तिको प्रतिष्ठामा आघात पुग्ने, सामाजिक सद्भाव बिगार्ने वा विपत्तिका घटनालाई लिएर घृणा तथा द्वेष फैलाउने किसिमका सामग्री प्रसारण नगर्न आग्रह गर्दै आएको छ।

बाढी, पहिरो, भूकम्पलगायतका विपत्तिका घटनामा मानवीय संवेदनशीलता कायम गर्नुपर्ने अवस्थामा कुनै जात वा समुदायलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति तथा सामग्री प्रसारण हुँदा सामाजिक सद्भावमा असर पर्न सक्ने भएकाले यस्ता गतिविधिमाथि प्रहरीले निगरानी बढाउँदै आएको छ।साइबर ब्यूरोले सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्नुअघि त्यसले जातीय, सामाजिक तथा सामुदायिक सद्भावमा पार्न सक्ने प्रभावबारे सचेत रहन समेत आग्रह समेत गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update