Sagun Khabar
बैतडीको वनारसी धाममा ज्योतिर्लिङ्ग स्थापना गरियो 

बैतडी –बैतडीको पाटन नगरपालिका –३स्थित प्रसिद्ध वनारसी धाम (विश्वनाथ)मा विधिपूर्वक ज्योतिर्लिङ्ग स्थापना गरिएको छ । बिहीबार वनारसी धाममा पुर्याएको ज्योतिर्लिङ्गको विधि विधानपूर्वक पूजाआजा गरेर आज महाशिवरात्रीको अवसरमा स्थापना गरिएको वनारसी धाम (विश्वनाथ) सेवा समाजका सल्लाहकार मानबहादुर चन्दले जानकारी दिए । 

जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको बताएपछि सो ठाउँमा मन्दिर निर्माण गरिएको थियो । मन्दिर निर्माण भएपछि ज्योतिर्लिङ्ग स्थापना गरिएको चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पौराणिक सरयु (सुर्नया) नदीको किनारमा विश्वनाथ धाम रहेको पुराणमा समेत उल्लेख गरिएकाले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको जगद्गुरुले बताएका छन् । 

तीनदिन विधिविधानपूर्वक पूजाआजा गरेर वनारसी धाममा ज्योतिर्लिङ्ग स्थापना गरिएको मन्दिर निर्माण समितिका संयोजक गणेशदत्त पन्तले बताए । 

वनारसी धाममा दर्शनका लागि हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् । वनारसी धाम सम्म जान सडक समेत पुगिसकेकाले धार्मिक पर्यटक र दर्शनार्थीहरुको संख्या बढ्ने विश्वास गरिएको छ । 

स्थानीयहरुको चन्दा, प्रदेश र स्थानीय सरकारको सहयोगमा वनारसी धाममा मन्दिर निर्माण कार्य सम्पन्न भएको बताइएको छ । यो संगै बैतडीमा भगवान शिवका १२ ज्योतिर्लिङ्ग मध्ये ३ ओटा रहेका जगदगुरुको भनाइ रहेको छ । 

रौलाकेदारमा केदारनाथ ज्योतिर्लिङ्ग, पाटनको चौखुँडामा रामेश्वर ज्योतिर्लिङ्ग र वनारसीमा विश्वनाथ ज्योतिर्लिङ्ग रहेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update