बैतडी –महाशिवरात्रीको अवसरमा शुरु भएको दार्चुलाको गोकुलेश्वरमा मेला जारी रहेको छ । स्थानीयहरुले गोकुले मेला भनेर भन्ने गरिएको मेलामा हजारौं सहभागी हुने गरेका छन् । गोकुलेश्वर मेलामा हरेक महाशिवरात्रीदेखि मेला लाग्ने गर्दछ ।
शिवरात्रीको दिन पूजाआजामा सहभागी हुने दर्शनार्थीहरु पूजाआजापछि स्थानीय उत्पादनको खरीद विक्रिमा लाग्ने गरेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा ‘गोकुले’मेलाले महत्वपूर्ण योगदान पुर्याएको उनले बताए । उनले भने ‘गोकुले मेलामा स्थानीय उत्पादनको कारोबार हुने गरेको छ । यसले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्याएको छ ।’
मेलामा दार्चुलाको हिमाली क्षेत्रमा पाइने जडीबुटीका साथै निगालो र बाँसबाट बनेका सामग्रीहरुको कारोबार हुने गरेको छ । यस्तै स्थानीयस्तरमै निर्माण गरिएका तामाका भाँडाकुँडा, अल्लोको कपडा लगायत स्थानीय उत्पादनहरु मेलाको आकर्षणको रुपमा रहेको भट्टले बताए ।
वि.सं १९९७ सालदेखि गोकुले मेला सञ्चालनमा आएको किम्वदन्ती रहेको छ । गोकुलेश्वरमा जगतपुरी धाम पनि रहेकाले महाशिवरात्रीको अवसरमा मेला लाग्ने र सोही मेलामा स्थानीय उत्पादनको विक्रि वितरण गर्ने प्रचलन बसेको भट्टले बताए ।
स्थानीय उत्पादनका लागि गोकुले मेला राम्रो बजार भएको स्थानीय समाजसेवी सुरेश श्रेष्ठले बताए । स्थानीयस्तरमै उत्पादन भएका सामग्रीहरु मेलामा विक्रि हुने गरेका उनले बताए ।
मेलामा टाढा–टाढाका मानिसहरुको समेत सहभागिता हुने भएकाले स्थानीय उत्पादनले बजार पाउने गरेको श्रेष्ठले बताए । उनले भने ‘गोकुले मेलामा स्थानीय उत्पादनले बजार पाउने गरेको छ । गोकुले मेलामा स्थानीय उत्पादनको राम्रो बजार हुन्छ ।’
यो बर्ष दार्चुलाको गोकुलेश्वरमा महोत्सवको आयोजना भएकाले मेला लम्बिएको स्थानीयहरुले बताएका छन् । महोत्सवकै कारण मेलामा निकै चहलपहल भएको श्रेष्ठले बताए ।
‘गोकुले’मेलामा स्थानीय उत्पादनको लाखौंको कारोबार हुने गरेको छ । स्थानीय उत्पादनले बजार पाउँदा उत्पदानकर्ताहरु खुसी भएका छन् ।





