Sagun Khabar
नेविसंघ बैतडीले बैठक बोलायोे, स्ववियु निर्वाचनको तयारी ‘एजेण्डा’ 

बैतडी –स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आउन लागेका बेला नेपाल विद्यार्थी संघ बैतडीले जिल्ला कार्यसमितिको बैठक बोलाएको छ । स्ववियु निर्वाचनका बिषयमा छलफल गर्नका लागि बैठक बोलाइएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले जानकारी दिए । 

बैठकमा जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरु र पालिका संयोजकहरुलाई डाँकिएको अध्यक्ष केसीले बताए । 

यही फागुन १३ गते शनिबारका दिन नेपाली कांग्रेसको पाटन नगर कार्यसमितिको कार्यालयमा बैठक बोलाइएको उनले बताए । स्ववियु निर्वाचनको तयारी बैठकको मुख्य एजेण्डा रहेको अध्यक्ष केसीले बताए । 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो मातहत रहेका क्याम्पसहरुमा आगामी चैत ८ गते स्ववियु निर्वाचनको मिति तोकेको छ भने त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचनको मितिको तोकेको छ । 

बैतडीमा जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, मणिलेक बहुमुखी क्याम्पस मेलौली र पाटन बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसको रुपमा रहेका छन् । 

यस्तै सिगास बहुमुखी क्याम्पस गाँजरी, पुर्चौडी बहुमुखी क्याम्पस र सेटीगाउँ बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको रुपमा रहेका छन् । यी क्याम्पसहरुमा स्ववियु निर्वाचनका लागि आवश्यक विद्यार्थी संख्या रहेको बताइएको छ । 

त्रिभुवन विश्वविद्यालयबाटै सम्बन्धन प्राप्त कुलाउ बहुमुखी क्याम्पस, शाहीलेक शिक्षा क्याम्पस र श्रीकोट बहुमुखी क्याम्पसका विद्यार्थी संख्या कम रहेको बताइएको छ । 

स्ववियु निर्वाचन हुने क्याम्पसहरुका स्ववियु निर्वाचनको तयारी स्वरुप बैठक आह्वान गरिएको अध्यक्ष केसीले बताए । उनले भने ‘बैठकमा स्ववियु निर्वाचनकै बिषयमा केन्द्रित रहेर छलफल हुन्छ । यसैको तयारीमा हामी कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल हुन्छ ।’ 
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update