Sagun Khabar
रोजगारीका लागि भारत गएका नगरबासीको निशुल्क बीमा गर्दै पाटन नगरपालिका 

बैतडी –बैतडीको पाटन नगरपालिकाले भारतमा काम गर्ने मजदुरहरुको निशुल्क दुर्घटनमा बीमा गर्न थालेको छ । नगरपालिकाका १० ओटै वडाबाट कामको खोजीमा भारतमा रहेका नगरबासीहरुको निशुल्क बीमा गर्ने कार्य शुरु भएको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले जानकारी दिए । 

रोजगारीको सिलसिलामा भारतमा रहेका नगरबासीहरुको जोखिम न्यूनीकरणका लागि बीमा गर्न थालिएको उनले बताए । पाटन नगरपालिकाले आप्रवासी कामदारहरुको बीमाका लागि यसअघि नै कार्यविधि बनाइसकेको र सोही कार्यविधि अनुसार बीमा गर्न थालिएको उनले बताए । 

रोजगारीका लागि भारतमा रहेका नगरपालिकाका १० ओटै वडाका नागरिकको तथ्यांक संकलन गरेर उनीहरुको ५ लाख बराबरको दुर्घटना बीमा गर्न थालिएको हो । वैदेशिक रोजगारीका लागि अन्य देशमा जाने कामदारको बीमा गर्ने गरिएको भएपनि भारतमा जाने कामदारहरुको बीमा गर्ने गरिएको छैन् । 

भारतमा रोजागारीका लागि गएका कामदारहरुलाई विभिन्न जोखिम हुने भएकाले त्यस्ता जोखिममा सहयोग पुर्याउनका लागि बीमा कार्यक्रम शुरु गरिएको हो । आप्रवासी कामदारको बीमाका लागि रुडेसले समेत सहयोग गर्दै आएको छ । अक्सफामको सहयोगमा सञ्चालित ग्रीन कार्यक्रम अन्तर्गत आप्रवासी कामदारको दुर्घटना बीमामा नगरपालिकालाई सहयोग गरिरहेको रुडेस बैतडीका कार्यक्रम अधिकृत गोपाल भाटले बताए । उनले भने ‘सुरक्षित आप्रवासन निती अन्तर्गत हामीले भारतमा काम गर्ने कामदारहरुको बीमामा सहयोग गर्दै आएका छौं । यसले कामदारहरुलाई कुनै क्षति भएमा सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ ।’

सूर्याज्योती लाइफ इन्स्योरेन्स कम्पनीसंग मिलेर नगरपालिकाले कामदारहरुको बीमा गरिरहेको वडा अध्यक्ष बिष्टले बताए । शुरुका एकदुई बर्ष नगरपालिकाले किस्ताको रकम तिर्ने भएपनि पछि कामदारहरुले पनि केही रकम तिर्नुपर्ने उनले बताए । 

रोजगारीका लागि भारतमा रहेकाहरु विभिन्न समस्या झेल्दै आएकाले उनीहरुलाई सहज होस भनेर बीमा कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । उनले भने ‘परिवार पाल्नका लागि भारत पसेकाहरु विभिन्न दुर्घटनामा पर्न सक्छन् । त्यस्तो बेला केही सहयोग होस भनेर हामीले बीमा कार्यक्रम अघि सारेका हौं ।’

आप्रवासी कामदारको निशुल्क दुर्घटना बीमा कार्यक्रमले रोजगारीका लागि भारतमा गएकाहरुलाई सहज हुने रुडेसका कार्यक्रम संयोजक भाटको दाबी रहेको छ । नगरपालिकाले यससम्बन्धि कार्यविधि समेत बनाइसकेकाले यो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।  
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update