बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ स्थित भुवनेश्वर मावि पत्थरकोट चौथालीको ५२ औं बार्षिकोत्सव समारोह आज विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा बोहरा प्रमुख अतिथी रहेकी थिइन् । समारोहमा सुर्नया गाउँपालिकाका प्रवक्ता प्रतापसिंह महरा बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक नन्दराम अवस्थीले ५२ लाख ४३ हजार बराबरको आय र ५० लाख ४० हजार ९६५ रुपैंया बराबरको व्यय विवरण प्रस्तुत गरेका थिए । १ करोड ६४ लाख ८९१ रुपैंया बराबरको प्रस्तावित बजेट उनले समारोहमा पेश गरेका थिए ।
विविध सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
समारोहमा बोल्दै सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहराले विद्यालयको विकासका लागि पालिकाका तर्फबाट गर्न सकिने सबै सहयोग गर्ने बताइन् । विद्यालयको शैक्षिक र भौतिक विकासका लागि आफूले पहल गर्ने उनले बताइन् । सो विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ ।





