बैतडी –बजारमा भारुको भाउ घट्दा नागरिक समस्या परेका छन् । बैतडीका बजारमा भारुको भाउ घटाएर कारोबार भइरहेको स्थानीयहरुले बताएका छन् । पाँच सय भारुको नोट अहिले नेपाली सातसयमा साटासाट भइरहेको छ । भारुको भाउ घटेको भन्दै बजारमा भारुको कम रुपैंयामा कारोबार भइरहेको दरशथचन्द नगरपालिका १ का मानबहादुर टेरले बताए । ५ सय भारुको नोट साट्न समेत समस्या भएको उनले बताए ।
एकसय भारुको १५० नेपाली मात्रै दिने गरेको सुर्नया गाउँपालिका ५ का भानबहादुर बिष्टले बताए । बजारमा भारुको भाउ घटेको भन्दै कम रुपैंयामा कारोबार भइरहेको उनले बताए । उनले भने ‘बजारमा भारुको भाउ घटेको भन्ने हल्लाकै भरमा कम रुपैंयामा कारोबार भइरहेको छ । यसले सर्वसाधारण मारमा परेका छन् ।’
बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ भारुको कारोबार हुने गरेको छ । सीमा क्षेत्रका नागरिकले भारुमै कारोबार गर्ने भएपनि भारुको भाउ घट्दा समस्या भएको स्थानीय नरेश बिष्टले बताए । उनले भने ‘भारुको अहिले भाउ घटेको छ । भारुको कारोबार गर्दा घटाएर दिने गरेका छन् ।’
तर भारुको भाउ भने बजारमा हल्ला चले अनुसार घटेको छैन् । भारुको कारोबार साविककै हिसाबमा भइरहेको राष्ट्रिय वाणिज्य बैंक बैतडीका प्रमुख पुरुषोत्तम लेखकले बताए । उनले भने ‘बजारमा कसरी कारोबार भइरहेको छ भन्ने कुरा हामीलाई थाहा छैन् । तर भारुको भाउ घटेको कुनै आधिकारिक जानकारी छैन् । पुरानै हिसाबले कारोबार भइरहेको छ ।’





