बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका बजारहरुमा सार्वजनिक शौचालय बन्ने भएका छन् । पालिकाको सतबाँँझ, ढोल्यामोड र मोतीनगरमा सार्वजनिक शौचालय बन्ने भएका हुन् । यो आर्थिक वर्ष भित्रै सार्वजनिक शौचालय बन्ने गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरले जानकारी दिए ।
यी बजारमा सार्वजनिक शौचालय बनाउनका लागि बजेट विनियोजन गरिने उनले बताए । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा नागरिकहरुलाई समस्या भएको कुरालाई मध्यनजर गरेर छिट्टै शौचालय बनाउने तयारी भइरहेको अध्यक्ष कुँवरले बताए ।
सुर्नया गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र सतबाँझमा सार्वजनिक शौचालय निर्माण हुनु पर्ने आवाज उठि रहेका बेला पालिकाले निर्माणका लागि पहल थालेको हो । गाउँपालिकाको वडा नं २ मा पर्ने यो बजारमा सार्वजनिक शौचालय नहुँदा खुल्ला ठाउँहरुमा सौच हुन्छ ।
बैतडी र दार्चुला दुइ जिल्ला जोड्ने सतबाँझ बजारमा सार्वजनिक शौचालय नहुँदा नागरिकहरुलाइ समस्या भएको स्थानीय चन्द्र सिंहऐरले बताए । बजारमा शौचालय नहुँदा सडक छेउ छाउ र खुल्ला ठाउँमा गएर नागरिकहरुले सौच गर्ने गरेका उनले बताए । खुल्ला ठाउँहरुमा शौच हुने सतबाँझ, ढोल्यामोड र मोति नगरमा अब सार्वजनिक शौचालय बन्ने भएपछि सहज हुने भएको छ ।
सार्वजनिक शौचालय निर्माण गर्न स्थानीय सरकारले कुनै चासो नदिएको भन्ने आलोचना भइरेकाबेला पालिकाले यो आर्थिक वर्ष भित्रै निर्माण हुने दाबी गरेको हो ।





