Sagun Khabar
नेविसंघ बैतडीको बैठक सम्पन्न, के–के भए निर्णय ?

बैतडी–नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ बैतडीको बैठक सम्पन्न भएको छ । बैतडीको पाटनमा सम्पन्न बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य र पालिकाका संयोजकहरुको सहभागिता रहेको थियो । 

स्वतन्त्र विद्यार्थीय युनियन (स्ववियु) निर्वाचनलाई केन्द्रित गरेर बैठक सम्पन्न भएको नेविसंघ बैतडीका अध्यक्ष कपील केसीले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आगामी चैत ८ गते स्ववियु निर्वाचनको मिति तोकेकाले सोही बिषयमा केन्द्रित भएर बैठकमा छलफल भएको अध्यक्ष केसीले बताए । 

बैठकले स्ववियु निर्वाचनलाई लक्षित गरेर यही फागुन १५ गतेदेखि संगठन विस्तार अभियान सञ्चालन गर्ने, स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा प्रतिनिधि खटाउने र स्ववियु निर्वाचनका लागि क्याम्पस र भेग सुहाउँदो नारा तय गर्ने निर्णय भएको केसीले बताए । 

बैतडीमा त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस रहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका पुर्चौंडी बहुमुखी क्याम्पस, सिगास बहुमुखी क्याम्पस गाँजरी र सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा स्ववियु निर्वाचन हुने बताइएको छ । 

यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसहरु जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा स्ववियु निर्वाचन हुने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update