बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका –६ सित्तडस्थित भगवती माविको ६६ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवराज जोशीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए ।
समारोहमा दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की र नेपाली कांग्रेसका बैतडी सचिव देवराज जोशी बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक गणेशसिंह भण्डारीले १ करोड २७ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक हरिदत्त जोशीले बताए ।
यस्तै विद्यालयमा सित्तड समाजले स्थापना गरेको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति दिने गरिएको छ । सो अक्षयकोषमा ९ लाख रकम रहेको बताइएको छ ।
२०१३ सालमा राजा महेन्द्रको हुकुमप्रभांगीबाट स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाई हुने गरेको छ ।
बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले शिक्षा क्षेत्रको विकासले मात्रै समाज विकसित हुने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले विद्यालयको चौतर्फी विकासका लागि पालिकाका तर्फबाट सक्दो सहयोग गर्ने बताइन् ।
बार्षिकोत्सवमा बोल्दै नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले भगवती मावि यो क्षेत्रको शैक्षिक धरोहर रहेको बताए । भगवती माविको चौतर्फी विकासका लागि आफ्नो पार्टीका तर्फबाट सहयोग गर्ने उनले बताए ।





