बैतडी –रोजगारीका लागि भारतमा रहेका कामदारहरुको निशुल्क दुर्घटना बीमा गर्दै आएको पाटन नगरपालिकाले आज पाटन ८मा निशुल्क दुर्घटना बीमा गरेको छ ।
वडाबाट रोजगारीका लागि भारतमा रहेका १ सय ८१ जना कामदारहरुको ५ लाख बराबरको निशुल्क दुर्घटना बीमा गरिएको वडा अध्यक्ष हरिश बिष्टले बताए । नगरपालिकाले भारतमा काम गर्ने नगरबासीको निशुल्क दुर्घटना बीमा गर्ने कार्यक्रम ल्याएकाले सोही अनुसारका वडामा पनि बीमा गरिएको वडा अध्यक्ष बिष्टले बताए ।
भारतमा काम गर्ने कामदारहरुको बीमा नभएका कारण उनीहरुले जोखिममा परेका बेला समेत सहयोग नपाउने भएकाले नगर सरकारका तर्फबाट बीमा गर्न थालिएको बिष्टले बताए । उनले भने ‘हामीले कार्यपालिकाबाट कार्यविधि पास गरिसकेका छौं । सोही अनुसार प्रत्येक वडामा भारतमा काम लागि गएकाहरुको बीमा गरिरहेका छौं ।’
बीमाको किस्ता बापतको रकम रुडेस बैतडी र पाटन नगरपालिकाले व्यहोर्दै आएको छ । सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीसंग मिलेर बीमा गर्न थालिएको छ । यसअघि वडा नं ६ मा समेत बीमा गरिएको थियो । नगरपालिकाका १० ओटै वडामा भारतमा काम गर्न गएका कामदारहरुको तथ्यांक संकलन गरिएको र उनीहरुको बीमा गर्ने कार्य भइरहेको बताइएको छ ।





