Sagun Khabar
बैतडीमा पूर्ण खोप दिगोपनका लागि अभियान 

बैतडी –बैतडीमा पूर्ण खोप दिगोपनाका लागि १० ओटै स्थानीय तहमा अभियान सञ्चालन भएको छ । पूर्ण खोप सुनिश्चितता र दिगोपनका लागि १० ओटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

प्रत्येक पालिकामा राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले पाउनुपर्ने खोप पाए÷नपाएको सुनिश्चित गरेर पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने उनले बताए । 

अहिले प्रत्येक पालिकामा पूर्ण खोपका बिषयमा जनप्रतिनिधिहरुसंग अन्तरक्रियात्मक छलफल गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘हामीले बालबालिकाहरुले खोप तालिका अनुसार पाउनुपर्ने खोपका बिषयमा छलफल गर्ने गरेका छौं ।यसले गर्दा पूर्ण खोप सुनिश्चित र दिगोपनाका लागि सहयोग पुग्नेछ ।’

आगामी वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने र त्यो बेला पालिका र जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

१५ महिना सम्मका बालबालिकाहरुलाई विभिन्न १३ रोग विरुद्धका ९ ओटा खोप दिने गरिएको छ । हरेक स्वास्थ्य संस्था र खोप क्लिनिकहरुमा तालिका अनुसार खोप दिने गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 


 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update