Sagun Khabar
बैतडी प्रशासनलाई ‘रबर बोट’ प्राप्त, तटीय क्षेत्रमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले ‘रबर बोट’प्राप्त गरेको छ । तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाहरुको समुचित व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यसहित गृहमन्त्रालयको समन्वय तथा मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई ‘रबर बोट’प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

बैतडीमा महाकाली जस्ता ठूला नदीहरुमा विभिन्न घटनाहरु भइरहने तर ‘रबर बोट’को अभावमा नदी, खोलामा फसेकाहरुको उद्धार गर्न कठीनाइ भइरहेका बेला ‘रबर बोट’ले सहयोग पुग्ने उनले बताए ।

‘रबर बोट’लाई सीमा नाका झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीमा राख्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । सशस्त्र प्रहरीसंग ‘रबर बोट’सञ्चालन गर्ने जनशक्ति भएकाले सशस्त्र प्रहरीलाई यो उपकरण दिइने उनले बताए । उनले भने ‘महाकालीमै पौडी खेल्न नजानेर डुबेका धेरै घटना छन् । त्यो अवस्थामा रबर बोटले नदीमा खोजतलास गर्न सहज हुन्छ । सशस्त्र प्रहरीसंग गोताखोर टीम पनि रहेको छ ।’

रबर बोटको अभावमा नदीमा फसेकाहरुको उद्धार गर्न यो भन्दा पहिला निकै कठीन भइरहेको अवस्थामा अब सहज हुने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update