Sagun Khabar
बैतडीको पुर्चौंडीमा असिनाले बालीनालीमा क्षति 

बैतडी –लामो समयदेखि खडेरी परेको बैतडीमा सोमबार साँझ परेको असिनापानीले बालीनालीमा व्यापक क्षति पुर्याएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा असिनापानीले बालीनालीमा क्षति पुर्याएको स्थानीय विरेन्द्र कुँवरले बताए । 

साँझ एकघण्टा जति परेको असिनाले गहुँबाली, तरकारीखेती र फलफूल खेतीमा क्षति पुर्याएको उनले बताए । लामो समयसम्म खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले सखाप पारेको उनले बताए । उनले भने ‘पुर्चौंडीका सबै वडामा असिनाले बालीनालीमा क्षति पुर्याएको छ । एकघण्टा जति परेको असिनाले तरकारी र फलफूलमा समेत क्षति पुर्याएको छ ।’

यो हिउँदमा हिउँदे बर्षा नहुँदा बालीनाली हुर्कनै नपाएको र केही भएको बालीनालीमा पनि असिनाले सखाप पारेको अर्का स्थानीय धनबहादुर साउँदले बताए । असिनाले बारीमा भएका सबै तरकारी समेत नष्ट गरेको उनले बताए । 

खडेरीका कारण भोकमरी सामना गर्नुपर्ने अवस्था आएका बेला असिनाले झन् क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । यो बर्ष खाद्यान्नको भाउ समेत आकाशिएकाले गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या भइरहेको साउँदले बताए । उनले भने ‘यो भन्दा पहिला खडेरीका कारण केही उत्पादन भएन् । अलिअलि भएको पनि असिनाले सखाप पारेपछि समस्या भएको छ ।’

करीब साढेचार महिनापछि बैतडीमा पानीसहित असिना परेको छ । गएको असोज अन्तिम सातादेखि पानी परेको छैन् । यो बर्ष हिउँदे बर्षा नहुँदा कृषि क्षेत्रमा निकै ठूलो प्रभाव परेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update