Sagun Khabar
बैतडीमा जीवन बुडाल मृत्यु प्रकरण : आफन्तले शव बुझेनन् 

बैतडी –बैतडीमा शनिबार राति मृत फेला परेका दशरथचन्द नगरपालिका १० खडेनीका २५ बर्षीय जीवन बुडालको शव अझै परिवारले बुझेका छैनन् । पिकनिक मनाउन अन्य ११ जना साथीहरुसंगै दशरथचन्द नगरपालिका ६ सेरा गएका बुडाल शनिबार राति मृत अवस्थामा फेला परेका थिए । 

मृतक बुडालको शव पोष्टमार्टम गरिएपनि अस्पतालमै राखिएको छ । बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् । परिवारजनले बुडालसंगै पिकनिक खान गएका १२ जनाको नाममा किटानी जाहेरी दिएको छ । जाहेरी पछि १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।  

पिकनिक खान गएका ११ जना र  गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको मृतकका दाजु गोविन्द बुडालले बताए । उनीहरुमाथि ज्यान सम्बन्धि कसुरको जाहेरी दर्ता भएको छ । 

राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका मृतक जीवन बुडाल विदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक मनाउने भन्दै ११ जना साथीसँग म १ ज २२२ नं.को जिपमा दशरथचन्द नगरपालिका–६, शेरा गएका थिए । पिकनिक मनाउन गएका बुडाल कहिले नफर्कने गरेर अस्ताएपछि अहिले घरपरिवार शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update