Sagun Khabar
बैतडीका पालिकामा एमालेको ‘मिसन ग्रासरुट’अभियान 

बैतडी –बैतडीका स्थानीय तहमा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन भएको छ । संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ सबै तहमा अभियान सञ्चालन भएको नेकपा एमालेका बैतडी उपसचिव लोकेन्द्र भण्डारीले बताए । 

बैतडी सदरमुकाममा शनिबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर शुरु भएको अभियान सबै स्थानीय तहमा सञ्चालन भइरहेको उपसचिव भण्डारीले बताए । दशरथचन्द नगरपालिकामा मंगलबार एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरिएको छ । दशरथचन्द नगरपालिकामा अभियानका लागि केन्द्रीय सदस्य सन्तोष शर्मा थापा खटिएकी छन् ।

यस्तै दोगडाकेदार र मेलौली नगरपालिकामा पनि आजै अभियानको शुरुवात गरिएको छ । यसअघि सोमबार पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा अभियानको शुरुवात गरिएको थियो ।

जिल्लाको शिवनाथ, सिगास र डिलाशैनी गाउँपालिकामा बुधबार अभियानको शुभारम्भ गर्ने तयारी रहेको उपसचिव भण्डारीले बताए । यही फागुन १८ गतेभित्र सबै पालिकामा अभियानको शुरुवात भइसक्ने उनले बताए । 

जिल्लाको सिगास र सुर्नया गाउँपालिकामा केन्द्रीय सदस्य पठानसिंह बोहरा खटिएका छन् भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य नरबहादुर धामी खटिएका छन् । 

यस्तै दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा केन्द्रीय सदस्य सन्तोष शर्मा थापालाई जिम्मेवारी दिइएको छ भने पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा केन्द्रीय सदस्य अफिलाल ओखेडा खटिएका छन् । 

अभियानमा प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्यहरु पनि खटिएका उपसचिव भण्डारीले बताए । अभियान अन्तर्गत गाउँ टोलमै पुगेर पार्टी संगठन विस्तार गर्ने, सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता प्रदान गर्ने, पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गर्ने, पार्टीभित्र देखिएको अन्तरविरोध हल गर्ने, नयाँ प्रतिभा भएका युवाहरुको पहिचान गर्ने कार्य भइरहेको उपसचिव भण्डारीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update