बैतडी –बैतडीमा मृत फेला परेका २५ बर्षीय जीवन बुडालको शव आफन्तले अझै बुझेका छैनन् । बुडाल मृत फेला परेको ५ दिन भइसक्दा समेत आफन्तहरुले शव बुझ्न मानेका छैनन् । जिल्लाको दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका बुडाल गएको शनिबार दशरथचन्द नगरपालिका–६ शेरामा मृत फेला परेका थिए ।
शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल शनिबार राति ९ बजे मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन् ।
बुडालको हत्या भएको भन्दै परिवारजनले शव बुझ्न मानेको छैन् । परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जनाको नाममा किटानी जाहेरी परेको छ । जिल्ला अदालतबाट म्याद थपेर १२ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
बुडालसँगै पिकनिक गएका गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दीपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिएर अनुसन्धान भएरहेको प्रहरी निरीक्षक जोशीले बताए ।
मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई समेत ज्ञापन पत्र बुझाएका छन् । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए । तर कम पानी भएकै ठाउँमा बुडाल मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका हुन् ।





