बैतडी –निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले छोटो अवधिमा १४ काम सम्पन्न गरेको दाबी गरेका छन् । सोमबार एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसंगै सरकारबाट फिर्ता भएका मन्त्री भण्डारीले ४२ दिनको अवधिमा महत्वपूर्ण काम भएको बताएका छन् ।
मंगलबार निवर्तमान मन्त्री भण्डारीको सचिवालयले प्रेस विज्ञप्ती जारी गर्दै १४ ओटा काम भएको बुँदागत रुपमा उल्लेख गरेको छ । कञ्चनपुरको दोधरा–चाँदनीमा सुख्खा बन्दरगाहको कामलाई अघि बढाउन भारतीय राजदूत नवीन श्रीवास्तवसंग द्विपक्षीय छलफल भएको र प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बन्दरगाह निर्माण स्थलको स्थलगत अनुगमन गरिएको उल्लेख गरिएको छ ।
चीन सरकारले रसुवाको टिमुरेमा निर्माण गरिरहेको बन्दरगाह निर्माण कार्य अघि बढाउन पहल गरिएको, धौवादी फलाम उद्योग लगायत अन्य ३ ओटा सिमेन्ट उद्योगसम्मको पहुँच मार्ग निर्माणका लागि ९ करोड ६७ लाख रकमान्तर गरिएको र २० ओटा औद्योगिक ग्रामका लागि थप रकम निकासा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै भारतबाट ५० हजार मेट्रिक टन गहुँ पैठारी कार्य सम्पन्न गरिएको, गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको, यस्तै पुराना रोकिएका काम सञ्चालनमा ल्याइएको, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न सबै निकायलाई परिपत्र गरेको र गहुँको मूल्य निर्धारण गरेको भण्डारीको सचिवालयको दाबी छ ।
यस्तै आफ्नो कार्यकालमा गहुँको समर्थन मूल्य तोकिएको, कोलकत्ता पोर्टको जग्गा लिज नवीकरणका लागि स्वीकृती दिइएको र उद्योग र औद्योगिक क्षेत्र अनुगमन, निरीक्षणलाई प्राथमिकता दिएको उनको सचिवालयले जनाएको छ ।
पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाएको, बौद्धिक सम्पत्ती सम्बन्धि कानुनलाई संशोधन र एकीकृत गर्न विधेयक तर्जुमा गरी अर्थ र कानुन मन्त्रालयमा रायका लागि पठाएको उनको सचिवालयको दाबी छ ।
उद्योग,वाणिज्य तथा आपूर्ती क्षेत्रको कार्ययोजना तयार पारेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको निवर्तमान मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
११ पुसमा विना विभागीय मन्त्रीको रुपमा प्रचण्ड सरकारको मन्त्री नियुक्त भएका भण्डारीले त्यसको २२ दिनपछि माघ ३ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएका थिए ।







