बैतडी –बैतडीको पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवहरुको पदस्थापन गर्दै पाटनमा ओमप्रसाद पाण्डेलाई खटाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा कामकाजमा खटाएको हो ।
यसरी खटाइएकामध्ये २५ जना विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र बाँकी तीन जना अख्तियार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका छन् । २५ जनामध्ये ८ जनालाई सुदूरपश्चिमका विभिन्न ८ ओटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकामा पदमराज अर्याल, बाजुराको बुढीगंगामा पदमलाल लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिकामा जगदीश अर्याल, डोटीको शिखर नगरपालिकामा पुरुषोत्तम घिमिरेलाई पठाएको छ ।
यस्तै अछामको साँफेबगरमा डुबिन्द्रप्रसाद बराल, कैलालीको गोदावरी नगरपालिकामा आश्विनकुमार पोखरेल र दार्चुलाको महाकाली नगरपालिकामा धर्मराज न्यौपानेलाई पठाइएको छ ।





