बैतडी - बैतडीको पाटन नगरपालिकाले शहीद परिवारलाई सम्मान गरेको छ । बुधबार पाटन ६ स्थित महिला विकास हलको प्राङ्गणमा आयोजित कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।
नगरपालिकाले विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा शाहदत प्राप्त गर्ने तथा बेपत्ता भएका व्यक्तिका परिवारका सदस्यलाई सम्मान गरेको नगर उपप्रमुख कमल सिंह बोहराले जानकारी दिए ।
बेपत्ता छानविन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावलीमध्ये १५ जना शहीद तथा बेपत्ता भएका परिवारका सदस्यहरुलाई दोसल्ला प्रमाणपत्र र नगद ५ हजार सहित सम्मान गरिएको उनले बताए । यस्तै उनीहरुलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं निर्वतमान प्रदेश सभासदस्य प्रेमप्रकाश भट्ट (आदित्य), नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत अन्य नागरिकहरुको सहभागिता रहेको थियो ।





