बैतडी –दुर्गम क्षेत्रमा बिशेषज्ञ डाक्टरसहित टोलीले सेवा दिने ‘गाउँघरमा चिकित्सक’कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बिशेषज्ञ चिकित्सकको सेवा नभएका दुर्गम गाउँमा शिविर मार्फत सेवा प्रदान गर्दा स्थानीय नागरिकलाई सहज भएको जिल्ला अस्पताल बैतडीका अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए ।
जिल्ला अस्पताल बैतडीले बिशेषज्ञ चिकित्सकको सेवाबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गरेको उनले बताए । उनले भने ‘दुर्गम क्षेत्रका नागरिकलाई बिशेषज्ञ सेवा दिने उद्देश्यले गाउँघरमै शिविर सञ्चालन गरेका हौं । यसले ग्रामीण क्षेत्रका नागरिकलाई सहज भएको छ ।’
चालु आर्थिक बर्षमा अहिले सम्म जिल्लाका दुई ठाउँमा बिशेषज्ञ चिकित्सकसहित शिविर सञ्चालन गरिएको महराले बताए । पञ्चेश्वरको कुलाउ स्वास्थ्यचौकी र सिगासको गाँजरी स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरबाट झण्डै डेढ हजार जनाले सेवा लिएका छन् ।
गाउँघरमा बिशेषज्ञ चिकित्सक सहितको टीम पुग्दा नागरिक निकै खुसी भएका गाँजरी स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले बताए । दुर्गम क्षेत्रमा बिशेषज्ञ सेवा नभएका कारण शिविरमार्फत सेवा लिनेको संख्या बढेको उनले बताए । उनले भने ‘दुर्गममा बिशेषज्ञ शिविर सञ्चालन हुँदा विभिन्न कारणले बिशेषज्ञ सेवा लिन नपाएका नागरिकलाई सजिलो भएको छ । यस्ता खालका शिविरहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ ।’
दुर्गमका नागरिकलाई बिशेषज्ञ सेवा दिने उद्देश्यसहित ‘गाउँघरमा चिकित्सक’कार्यक्रम सञ्चालन गरिएको जिल्ला अस्पतालका प्रमुख डा. दिपेश श्रेष्ठले बताए । गाउँघरसम्मै बिशेषज्ञ सेवा प्रदान गर्नका लागि शिविरमार्फत सेवा दिने गरिएको डा. श्रेष्ठले बताए । उनले भने ‘हामीले शिविरमार्फत दुर्गम क्षेत्रमा बिशेषज्ञ सेवा दिने कार्य गरेका छौं । यो बर्ष दुई ठाउँमा त्यस्ता शिविर सञ्चालन गरिसकेका छौं ।’
गाउँघरमा बिशेषज्ञ चिकित्सकसहितको सेवा पाउँदा बिशेषज्ञ सेवा पाउनबाट वञ्चित रहेका नागरिकलाई सहज भएको सिगासका स्थानीय राजेन्द्र साउँदले बताए । उनले भने ‘यस्ता खालका शिविरहरु बेलाबेलामा सञ्चालन भइरहनुपर्दछ । यसले गर्दा दुर्गमका नागरिकको स्वास्थ्य सेवा प्राप्तिमा पहुँच अभिवृद्धि हुन्छ ।’
‘गाउँघरमा चिकित्सक कार्यक्रम’अन्तर्गत समान्य चेकजाँचदेखि लिएर बिरामीहरुलाई बिशेषज्ञ सेवा दिने गरिएको अस्पताल व्यवस्थापन अधिकृत महराले बताए । यसका साथै थप उपचारको आवश्यकता परेकाहरुलाई अन्यत्र जानका लागि समेत सिफारिश गर्ने गरिएको उनले बताए ।





