बैतडी- बैतडीका क्याम्पसहरुमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी बढेको छ । त्रिभिुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्ववियु चुनावको मिति नजिकिए संगै जिल्लामा पनि सरगर्मी बढेको हो ।
अहिले त्रिबि अन्तर्गतका बैतडीका ६ ओटा क्याम्पसमा स्ववियु चुनाव हुँदै छ । शाहीलेक शिक्षा क्याम्पस,नवप्रभात संयुक्त क्याम्पस, पुर्चौडी बहुमूखि क्याम्पस,सिगास शिक्षा क्याम्पस, सेटी गाउँ बहुमूखि क्याम्पस र श्रीकोट बहुमूुखि क्याम्पसमा चुनाव हुन लागेको हो ।
स्ववियु चुनावमा विद्यार्थी संगठनहरुले कतै तालमेल गरेर चुनावी मैदानमा छन् भने कहिँ एकल प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघले ४ ओटा क्याम्पसमा एकल उम्मेदवारी दर्ता गराएको र दुई क्याम्पसमा अखिल क्रान्तिकारी संग तालमेल गरेको नेवि संघ बैतडीका अध्यक्ष कपील केसीले जानकारी दिए ।
पञ्चेश्वरको कुलाउमा रहेको नवप्रभात संयुक्त क्याम्पस र दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमूखि क्याम्पसमा नेवि संघले अखि क्रान्तिकारी संग तालेमेल गरेर चुनाव लडिरहेको उनले बताए । सिगास शिक्षा क्याम्पसमा नेवि संघको एकल उम्मेदवारी दर्तापछि निर्विरोध नै भइसकेको र घोषणा मात्रै बाँकी रहेको उनको भनाई छ ।
यस्तै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पनि तालम गरेर चुनावि मैदानमा छ । पुर्चाैडी बहुमूखि क्याम्पस र सेटिगाउँ बहुमूखि क्याम्पसमा अनेरास्ववियुले अखिल क्रान्तिकारी संग तालमेल गरेको र बाँकी क्याम्पसमा एकल चुनाव लडिरहेको अनेरास्ववियु जिल्ला कमिटि उपसचिव सञ्जु भण्डारीले बताए ।
यस्तै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले ६ क्याम्पस मध्ये ४ मा उम्मेदवारी दिएको र चारमा नै तालमेल रहेको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला इन्चार्ज गोबिन्द मालले बताए । सेटिगाउँ बहूमुखि क्याम्पस, पुर्चौडी बहुमूखि क्याम्पसमा अनेरास्ववियु संग, नवप्रभात संयुक्त क्याम्पस र श्रीकोट बहुमूखि क्याम्पसमा नेवि संघ संग तालमेल रहेको उनले बताए ।
तालमेल भएका क्याम्पस मध्ये पुर्चौडीमा सचिवका लागि उम्मेदवारी रहेको र अन्यमा सभापतिका लागि उम्मेदवारी रहेको उनले बताए । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै विद्यार्थी संगठन र उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् ।
फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरुले प्रचार प्रसारको कार्यलाई तिब्र पारेका हुन् ।
उम्मेदवारले पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु चुनाव अन्तर्गत मतदान चैत ५ गते हुनेछ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।





