Sagun Khabar
नसर्ने रोगको जोखिम बढ्दै 

बैतडी–पछिल्लो समयमा नसर्ने रोगहरु जनस्वास्थ्यको विकराल समस्या बन्दै गएका छन् । सर्ने रोग भन्दा नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र स्थानीय तहहरुले विभिन्न ठाउँमा सञ्चालन गरेका शिविरमा नसर्ने रोगका बिरामीको संख्या बढी आएको बताइएको छ । 

पाटन नगरपालिकाले १० ओटै वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा नसर्ने रोगका बिरामीहरु धेरै आएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

शिविरमा आएका धेरै जसोमा नसर्ने रोगहरुको जोखिम रहेको पाइएको महराले बताए । उच्च रक्तचाप, दम, मधुमेह लगायतका रोगहरुबाट नागरिक समस्यामा रहेका उनले बताए । उनले भने ‘नसर्ने रोगहरुको प्रकोप बढ्दै गएको छ ।मानिसहरु युवा अवस्थादेखि नै नसर्ने रोगका शिकार भइरहेका छन् ।’

पछिल्लो समयमा क्यान्सर जस्ता जटील खालका नसर्ने रोगहरुको समेत जोखिम बढ्दै गएको छ । खानपीन, रहनसहन लगायतका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । सरुवा रोग भन्दा नसर्ने रोगहरु विकराल समस्याको रुपमा देखा पर्दै गएका उनले बताए । 

नसर्ने रोगहरुको उपचार समेत खर्चिलो हुँदा नागरिकलाई समस्या भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । क्यान्सर, मुटुको रोगहरुको उपचार समान्य नागरिकको पहुँच भन्दा बाहिर रहेको उनले बताए । यस्ता रोगहरुको उपचार निकै खर्चिलो भएकाले सबैको उपचारमा पहुँच पुग्न नसकेको उनले बताए । 

शारीरिक परिश्रम कम हुनु, रेडिमेड खानाको प्रयोग, चिल्लोको अत्यधिक प्रयोग लगायतका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । नसर्ने रोगहरुको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. श्रेष्ठले बताए ।  
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update