बैतडी –बैतडीमा यो बर्ष हिउँदे बर्षा नभइकनै हिउँद सकिएपछि किसानहरु भोकमरी हुने चिन्तामा रहेका छन् । हिउँदे बर्षा नभएका कारण गहुँबाली सुकेको सुर्नया ५ का हरजित बिष्टले बताए । हिउँदमा बर्षा नहुँदा खेतमा गहुँ सुकीसकेका उनले बताए । पछिल्लो समयमा समेत बालीनालीका लागि आवश्यक बर्षा हुन सकेको छैन् ।
कतिपय ठाउँमा असिनाले बालीनाली नष्ट गरेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाको अधिकांश भागमा फागुन अन्तिम साता परेको असिनाले बालीनाली नष्ट गरेको किसानहरुले बताएका छन् । पुर्चौंडीमा भएको बालीनाली समेत असिनाले सखाप पारेको स्थानीय धनबहादुर साउँदले बताए ।
यस्तै डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा असिनाले बालीनालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् । खडेरीका कारण खासै सप्रन नपाएको बालीमा असिना पर्दा झन् सखाप भएको स्थानीय तेजराज जोशीले बताए ।
यो बर्ष हिउँदमा बर्षा नहुँदा लेकाली क्षेत्रमा गहुँबालीको बीउ जोगाउन मुस्किल भएको सुर्नया ६ का नवराज अवस्थीले बताए । लगातारको खडेरीले गहुँबाली नराम्ररी प्रभावित भएको उनले बताए । उनले भने ‘यो बर्ष गहुँको बीउ जोगाउन मुस्किल भएको छ । भोकमरी हुने सम्भावना रहेको छ ।’
सिँचाइको सुविधा नभएका ठाउँमा गहुँबाली सुकिसकेको स्थानीयहरुले बताएका छन् । यो बर्ष गहुँको उत्पादन निकै कम हुने अनुमान गरिएको सुर्नया ६ का दिवाकर अवस्थीले बताए ।
बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँखेती गर्ने गरिएको छ । सिँचाइ सुविधा भने ८ हजार हेक्टर क्षेत्रफलमा मात्रै रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबालीको उत्पादनमा ह्रास आउने अनुमान गरिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।





