Sagun Khabar
दशरथचन्द नगरपालिकामा सुरु भएन ‘हेलो मेयर’ कार्यक्रम 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)ले गएको जेठ ६ गते पदभार ग्रहण गर्दा ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । हरेक शुक्रबार दिउँसो ३ बजेदेखि ‘हेलो मेयर’कार्यक्रममा नागरिकले फोन गर्न सक्ने घोषणा गरिएको भएपनि सो कार्यक्रम अहिले सम्म सञ्चालनमा आउन सकेको छैन् । 

नगरप्रमुख ‘लख्खाभाइ’ले नागरिकका गुनासा सुन्नका लागि यो कार्यक्रम सञ्चालनमा आउने घोषणा गरेका भएपनि कहिलेदेखि कार्यक्रम सञ्चालनमा आउँछ भन्ने कुरा अहिले सम्म थाहा भएको छैन् । पदभार ग्रहण गरेको ९ महिना बितिसक्दा समेत नगर प्रमुख जोशीले आँफैले घोषणा गरेको कार्यक्रम सञ्चालनमा ल्याउन सकेका छैनन् । 

नागरिकका गुनासा सुन्नका लागि सञ्चालनमा ल्याउने भनिएको सो कार्यक्रम घोषणा हुँदा नगरबासी निकै खुसी भएका थिए । तर ‘हेलो मेयर’कार्यक्रम सञ्चालनमै नआएपछि नागरिक निराश भएका छन् । नगर प्रमुखलाई कार्यालयमा भेट्न समेत निकै सकस हुने गरेको नागरिकको गुनासो छ । 

बीचमा चुनाव लगायतका कारणले ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा आउन नसकेको नगरपालिकाको योजना आयोगका उपाध्यक्ष निर्मल पाण्डेले बताए । त्यसका लागि कार्यविधि आवश्यक हुने भएकाले कार्यविधि बनाएर कार्यक्रम सञ्चालनमा ल्याइने उनले बताए । 

यस्तै पदभार ग्रहण गरेकै दिन नगर प्रमुख जोशीले १० लाख भन्दा माथिका योजना ठेक्का प्रणाली मार्फत सञ्चालन गर्ने घोषणा गरेका थिए । तर त्यो घोषणा समेत कार्यान्वयन नभएको गुनासो आएको छ । गढी –गोठलापानी सडक मर्मतमै सो घोषणा कार्यान्वयन नभएको धेरैले गुनासो गरेका छन् । 

सुशासनका लागि महत्वपूर्ण घोषणा गरिएका भएपनि कार्यान्वयनमा नआउँदा नागरिक निराश भएका छन् । ‘हेलो मेयर’ कार्यक्रम मार्फत आफ्ना गुनासा राख्न पाउने आसा गरेका नागरिक सो कार्यक्रम सञ्चालनमा नआउँदा निराश बनेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update