बैतडी- बैतडीको पुर्चौडीमा विद्युत सेवा अनियमित हुँदा उपभोक्ता समस्यामा परेका छन्। नगरपालिकाको केहि भूभागमा विद्युत विस्तार भएपनि अनियमित हुने गरेकाले उपभोक्ता समस्यामा परेका हुन् ।
विद्युत अनियमितहुँदा समस्या हुने गरेको स्थानीय उत्तम कुँवरले बताए । घरमा बिजुली लगाएको भएपनि चाहिने बेलाकुनै दिन उपभोग गर्न नपाएको उनले बताए । बेला बेला लाइनमा समस्या आउने भएका कारण यहाँका नागरिकहरु हैरान भएका उनले बताए । कुनै बेला विद्युत लाइनमा समस्या आएपछि एक साता सम्म बिजुली बत्ती नआउने गरेको उनको भनाई छ ।
चमेलिया जलविद्युत आयोजनाबाट खिचिएको राष्ट्रिय प्रसारणको लाइनमा समस्या आइराख्ने हुँदा उपभोक्ता आजित छन् । विद्युत अनियमितताका कारण मोबाइल चार्ज गर्न र अन्य विद्युतिय उपकरण सञ्चालन गर्न पनि समस्या हुने गरेको स्थानीय अम्मर राज जोशीले बताए ।
विद्युत सेवा अवरुद्ध भइरहने भएकाले यहाँका कार्यालयहरुमा कार्य सम्पादन गर्न पनि समस्या हुने गरेको उनले बताए । राष्ट्रिय प्रसारण लाइन पुगेको पुर्चौडीको हाँट खडिखेतमा अहिले विद्युत सेवा अनियमित हुने गरेको जोशीले बताए । यसरि बिजुली बत्ती आउने जाने भएपछि कामकाजमा पनि समस्या हुने गरेको पुर्चौडी नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले बताए ।
पुर्चाैडी नगरपालिकाको वडा नं १,२ र ३ का केहि क्षेत्रमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।जय दुर्गे चमेलिया सामुदायिक ग्रामिण विद्युत सहकारी संस्थाले विद्युतिकरण गरेको थियो । तर विद्युत सेवा भने प्रभावकारी छैन् ।विद्युुत सेवा भरपर्दाे नभएको भन्दै नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमले समस्या समाधानका लागि आफु पहल गर्ने बताए ।
नगर क्षेत्रको केही ठाउँमा विद्युत सेवा पुगेको भएपनि समस्या आइरहने भएकाले यसको समाधानका लागि आफु पहल गर्ने उनले बताए । यस्तै नगरपालिका पूर्ण विद्युतिकरण पनि छिट्टै हुने उनले दावी गरेका छन् । अहिले पनि पुर्चौडी नगरपालिकामा विद्युत विस्तारको काम जारी रहेको छ ।





