Sagun Khabar
प्रयोगमा आउन छाड्यो घर आगनको वृक्षबेलिमा लाग्ने चिण्डो

बैतडी- घरआगनको वृक्ष बेलिमा लाग्ने चिण्डो प्रयोगमा आउन छाडेको छ । बैतडीका नागरिकहरुले विभिन्न सरसामान राख्न प्रयोग गर्ने  चिण्डो पछिल्लो समय प्रयोगमा आउन छाडेको  हो ।  अहिले पलास्टिकजन्य भाँडाकुँडाहरु बढी प्रयोग हुन थालेपछि नागरिकहरुले चिण्डो प्रयोग गर्न छाडेका हुन् ।

 पुर्चौडीका ठगि धानुक काँधमा कट्टा र हातमा चिण्डो लिएर उकालि चड्दै थिए । गाडीको ढोकाबाट उनले बोकेको चिण्डो र काँधमा रहेको  कट्टा देखेर उनी संग कुरा गर्ने मन लाग्यो । गाडी रोक्दा उनी पनि रोकिए । उनी संग भलाकुशारी भयो । उनले हातमा बोकेको चिण्डो बारे बताए ।

हजुर बुवाको पाला देखिको चिण्डो उनले सम्हालेर राखेका रहेछन् । उनले त्यो चिण्डोमा तम्बाखुका लागि उखु पेलेर बनाएको खुदो राख्दा  रहेछन । यसका साथै घरमा पनि चिण्डोमा गहत, मुसुर, मास, केराउ लगायतका दालहरु राख्दा रहेछन् । ‘अहिले यसको प्रयोग कोही  गर्दैन्न तर यो राम्रो हुन्छ, यसमा राखेको अमिलो पदार्थ चुख, गुलियो पदार्थ (उखु पेलेर बनाईने खुदो) लगायतका अन्य दालजन्य सामानहरु पनि ताजकि रहन्छन ’उनले भने ।

उमेरले जीवनको उत्तरार्धतिर पुगिसकेका धानुकले यसको प्रयोग घट्दा चिन्ता व्यक्त गरे । ‘अहिलेको युवा पुस्ताले यसको प्रयोग गर्दैन्न , पलास्टिकका भाँडाकुँडा ल्याउछन, सानो तिनो सामान हामी त यसमा राख्थ्यौं, उनले भने ।खर्च गरेर अहिले पलास्टिकका भाँडाकुँडा प्रयोग भएका कारण हाम्रा वरिपरिका सम्भावना र प्रयोगमा आउने साधनको खोजिनै नभएको उनले बताए ।

अहिले त सबै जनाले यसको प्रयोग गर्न लगभग छाडिसकेको उनको भनाइ थियो । ‘सानोतिनो सामान राख्न प्रयोग हुने भाँडाकुँडा  खरिदमै धेरै खर्च हुन्छ अहिले, त्यो बेलाका मान्छे यस्ता चिण्डो जस्ता साधनहरुमा सामान राख्थे पैँसा पनि बचत हुन्थ्यो , अहिले त खर्च बढि छ ,जमाना बदलियो, पुराना चालचलन, रितिसंस्कृति हराए कसलाई के भन्ने,उनले भने । 

पछिल्लो समय मानव जीवन  सहजता  खोजि रहेको छ । पाश्चात्य जगतको संस्कृति सहर देखि गाउँघर सम्म प्रवेश गर्दै गएपछि अहिले छेउछाउ भएका चिजवस्तु प्रयोगमा आउन छाडेका छन् । हामिहरु आफू वरिपरिका सम्भावनाहरुलाई पनि लत्याएर पाश्चात्य जगतको संस्कृति अंगाल्न अग्रसर भएका स्थानीय  नरेन्द्र विष्टले बताए । पुर्खाहरुले प्रयोग गर्नै कतिपय चिजवस्तुहरु लाई पनि चिन्न छोडिसकेका उनले बताए । ‘

हजुरबुवाहरुलाई  चिण्डाको महत्व थाहा थियो हामी अनभिज्ञ छौँ, कोइ जानि जानि त, कोइ अनजानमा फेरिएको जमाना संग दौडि रहेका छौँ, उनले भने । हजुरबुवाले प्रयोग गर्ने चिण्डाले धेरै खर्च बचाएको थियो । हामी पलास्टिकजन्य भाँडाकुँडाहरु प्रयोग गरेर खर्च बढाई रहेका छौँ । हजुरबुवाले आफ्नो आगनको वृक्ष बेलिमा लागेको चिण्डोको यति सदुपयोग गरे जसले उनलाइ खर्चको भार परेन, हामी तिनै सम्भावनालाई कुल्चिएर पलास्टिक प्रयोग गरि रहेका छौँ र व्ययभार थपिरहेका छौँ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update