बैतडी- सडक डिभिजन कार्यालय बैतडीले सम्झौताअनुसार काम नगर्ने तथा निर्माणमा चरम ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति अत्यन्त न्यून रहेको र पटक–पटकको लिखित तथा मौखिक ताकेता गर्दा पनि काममा बेवास्ता गरिएको जनाएको छ । यसलाई गम्भीर रूपमा लिँदै व्यवसायीहरूलाई अन्तिम चेतावनी दिइएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताका सर्तअनुसार ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको छ ।
सूचना अनुसार सम्बन्धित निर्माण व्यवसायीहरूले १५ दिनभित्र कार्यालयमा उपस्थित भई विश्वसनीय स्पष्टीकरणसहित तत्काल काम सम्पन्न गर्ने ठोस कार्ययोजना पेश गर्नुपर्नेछ ।
कार्यालयले तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण नआएमा ठेक्का सम्झौता रद्द गरिने र सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राख्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।





