बैतडी –बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी वागमती कुमारी ऐर निर्वाचित भएकी छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष समेत रहेका नरेन्द्र साउँदलाई पराजित गर्दै सभापतिमा ऐर निर्वाचित भएकी हुन् ।
विजयी ऐरले १२७ मत ल्याइन् भने साउँदले ९५ मत प्राप्त गरे । यस्तै सचिवमा नेविसंघका हेमन्त साउँद १३३ मत सहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका मनोज कुँवरले ११४ मत ल्याए ।
कोषाध्यक्षमा भने अनेरास्ववियु क्रान्तिकारीकी गीता भण्डारी १४५ मत सहित विजयी भएकी छन् उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका उत्तम साउँदले १२८ मत ल्याए ।
सदस्यहरुमा नेविसंघका जानकी बोहरा र दीपा धानुक निर्वाचित भएका छन् भने अनेरास्ववियुका कमला बोहरा, विष्णुदत्त अवस्थी र दीपाकुमारी बोहरा निर्वाचित भएका छन् ।
पुर्चौंडी बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए भने नेविसंघ एक्लै चुनावी मैदानमा उत्रेको थियो ।





