बैतडी –बैतडीमा तीन मेडिकल सञ्चालक कारवाहीमा परेका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको खोड्पे बजारमा सञ्चालनमा रहेका तीन मेडिकललाई कारवाही गरेको हो ।
अनुगमनको क्रममा मेडिकहरुले अनुमति बेगर औषधि विक्रि गर्ने गरेको, स्वास्थ्यकर्मीहरुको प्रेस्किप्सन बिना कडा खालका मानव स्वास्थ्यमा गम्भीर असर गर्ने औषधीहरू बेचबिखन गरेको, फार्मेसी संचालक आफैले चिकित्सकीय अभ्यास गर्ने गरेको, आयुर्वेदिक पसलले एलोपेथिक तथा एलोपेथिक फार्मेशीहरूले पशु तथा अन्य भेटनरी सम्बन्धी औषधीहरू समेत बेचबिखन र अभ्यास गरेको पाइएकोले त्यस्ता मेडिकल सञ्चालकहरुलाई कारवाही गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
मेडिकलहरुबाट स्टोरोइड ग्रुपका औषधिहरु समेत विक्रि वितरण भइरहेका पाइएको उनले बताए । यस्ता खालका औषधिहरुले लामो समयसम्म प्रयोग गर्दा अन्य जटीलता आउने स्वास्थ्य प्रमुख भट्टले बताए । चिकित्सको प्रेस्किप्सन बिना विक्रि गर्न नपाइने भएपनि मेडिकहरुले यस्ता औषधि विक्रि गर्ने गरेको पाइएकाले कारवाही गरिएको हो ।
खोड्पे बजारमा सञ्चालनमा रहेका सरस्वती मेडिकल, लक्ष्मी वेल मेडिकल र हेमशिखा आयुर्वेदिक पसललाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ती मेडिकल सञ्चालकहरुलाई सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
मेडिकल सञ्चालकहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७६ तथा औषधी ऐन, २०३५ अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुबाट जनही १० हजारका दरले जरीवाना असुल गरिने बताइएको छ ।
यस्तै अनुगमनका क्रममा एकजना मेडिकल सञ्चालक पसल बन्द गरेर भागेका अनुगमन टोलीले जनाएको छ । भागेका व्यक्तिमाथि निगरानी गरिरहेको प्रशासनले जनाएको छ ।





