Sagun Khabar
चैते झरीले चिसो बढ्यो, किसानलाई भने राहत 

बैतडी –बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा सोमबार रातिदेखि बर्षा भएको छ । यो बर्ष हिउँदे बर्षा नभएपनि चैतमा आएर बर्षा भएको हो । चैते झरीले उच्च लेकाली क्षेत्रहरुमा भने चिसो बढेको स्थानीयहरुले बताएका छन् । 

गएको दुई÷तीन दिनयता मौसममा आएको बदलीले लेकाली क्षेत्रमा चिसो बढेको मुस्याचोरका स्थानीय भीमराज भट्टले बताए । सोमबार रातिदेखि लगातार बर्षा हुन थालेपछि चिसो बढेको उनले बताए । उनले भने ‘यो बर्ष हिउँदमा बर्षा भएन् । अहिले चैतको महिना बर्षा भएको छ । चैतमा समेत पौषको जस्तै चिसो बढेको छ ।’

बर्षाका कारण चिसो बढेको श्रीभावरका स्थानीय मानमती साउँदले बताइन् । केही दिन पहिला गर्मी शुरु भइसकेपनि पानी परेपछि फेरी चिसो बढेको उनले बताइन् । उच्च लेकाली क्षेत्रमा निकै चिसो बढेको उनले बताइन् । 

लामो समयदेखि बर्षा नहुँदा मारमा परेका किसानहरुलाई भने यो बर्षाले राहत मिलेको छ । बालीनालीका लागि यो बर्षा अमृतजस्तै भएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

गहुँबाली, आलुबाली र फलफूलका लागि समेत यो बर्षा निकै लाभदायक रहेको उनले बताए । गहुँबालीका लागि अहिले सिँचाइ आवश्यक रहेको समयमा भएको बर्षाले किसानहरुलाई राहत मिलेको उनले बताए । 

यस्तै हिउँदे फलफूलहरुमा समेत पालुवा आउने समय भएको र यो समयमा पानी आवश्यक पर्ने उनले बताए । सिँचाइको सुविधा नभएका ठाउँका लागि बर्षाले निकै फाइदा पुर्याएको अवस्थीले बताए । उनले भने ‘यो बर्षा बालीनालीका लागि अमृत समान हो । यसले गहुँबाली, आलु, अन्य तरकारी बाली र फलफूलका लागि निकै सहयोग गर्छ ।’

लामो समयपछि बर्षा भएकाले किसानहरु समेत खुसी भएका छन् । सिँचाइ सुविधा नभएका ठाउँमा यो बर्षाले निकै राहत पुर्याएको दशरथचन्द नगरपालिका १ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । उनले भने ‘लामो समयपछि भएको बर्षाले निकै राहत पुगेको छ । यसले थोरै भएपनि गहुँबाली सप्रिने अनुमान गरेका छौं । तरकारी खेतीका लागि पनि राम्रो भएको छ ।’

यसैबीच आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

यस्तै, आज राति पनि केही ठाउँमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको बताइएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने मौसमविद्ले बताएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update