Sagun Khabar
स्वास्थ्य संस्थाहरुलाई पालिकाबाट व्यवस्थापन खर्च पाउनै मुस्किल 

बैतडी –बैतडीका स्वास्थ्य संस्थाहरुलाई पालिकाबाट कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च प्राप्त नहुँदा समस्या भएको छ । स्वास्थ्यचौकीहरु पालिका मातहत सञ्चालनमा आएपछि कार्यालय व्यवस्थापन खर्च नपाउने गरेको गुनासो बढ्दै गएको छ । 

कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च नहुँदा स्वास्थ्यचौकीका सेवाहरु प्रभावित समेत हुने गरेका छन् । सबै कुरा पालिकाहरुले उपलब्ध गराउने बताएपनि अतिआवश्यक परेको बेला समेत खर्च गर्ने बजेट नहुँदा समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । पालिकाहरुले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यचौकीहरुलाई प्राथमिकतामा राख्न नसक्दा सेवा प्रभावित हुने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाका स्वास्थ्य संस्थाहरुमा अनुगमन गर्दा स्वास्थ्यचौकीहरुले व्यवस्थापन खर्चको अभावमा अत्यावश्यक सेवा प्रभावमा समस्या हुने गरेको बताएका छन् । स्वास्थ्यचौकीहरुलाई आवश्यकता आधारमा कार्यालय सञ्चालन र व्यवस्थापन खर्च निकासा नहुँदा सेवा प्रवाहमा जटीलता आइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘स्वास्थ्य संस्थाको आवश्यकता अनुसार विभिन्न सामग्री खरीद गर्नुपर्ने हुन्छ । तर बजेट नहुँदा स्वास्थ्यचौकीहरुलाई समस्या भएको छ ।’

बैतडीमा १०२ ओटा स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य केन्द्रहरु रहेका छन् । तर ती संस्थाहरुमा पालिकाले बजेट उपलब्ध नगराउँदा सेवा प्रवाहमै समस्या हुने गरेको छ । पालिकाहरुले आवश्यकता अनुसार स्वास्थ्य संस्थामा बजेट प्रवाह नगरेको पाइएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

आधारभूत स्वास्थ्य सेवा हेर्ने अधिकार स्थानीय तहहरुको भएपनि आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने तर्फ पालिकाहरुको ध्यान जान सकेको छैन् । पालिकाको केन्द्रबाटै सबै स्वास्थ्य संस्थाहरु सञ्चालन गर्न खोज्दा समस्या भएको बताइएको छ । सम्बन्धित स्वास्थ्यचौकी इन्चार्जहरुलाई आवश्यकताका आधारमा बजेट उपलब्ध नगराउँदा आधारभूत स्वास्थ्य सेवा खस्किदै गएको छ । 

जिल्लाका धेरै जसो स्वास्थ्य संस्थाहरुमा सुरक्षित प्रसुती जस्तो संवेदनशील सेवा बन्द हुँदा समेत पालिकाहरुले ध्यान दिन नसकेको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update