
बैतडी –सुदूरपश्चिम विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज (बुधबार) स्ववियु निर्वाचन हुँदैछ । बैतडीका तीनओटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने क्याम्पसहरुले जनाएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा रहेका जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक क्याम्पस काँडा मेलौलीमा स्ववियु निर्वाचन हुने भएको हो ।
बिहान ८ बजेदेखि मतदान शुरु भएर दिउँसो ४ बजे मतदान सम्पन्न गरिने क्याम्पसहरुले जनाएका छन् । आज नै मतपरिणाम आउने बताइएको छ ।
जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियु चुनावी मैदानमा रहेका छन् । सो क्याम्पसमा १ सय ८९ जना विद्यार्थी मतदाता रहेका छन् ।
यस्तै पाटन बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएको छ भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा रहेको छ । सो क्याम्पसमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियन समेत चुनावी मैदानमा रहेको छ । पाटन बहुमुखी क्याम्पसमा २७५ जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति संयोजक फणेन्द्र अवस्थीले बताए ।
यस्तै मणिलेक क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावी मैदानमा छन् भने नेविसंघ एक्लै चुनावी मैदानमा रहेको छ । मणिलेक क्याम्पसमा १२० जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति सदस्य दिपक भट्टले बताए ।