
बैतडी –बैतडीमा बाढीजन्य विपद्का बेला हुने क्षति कम गर्नका लागि खोज तथा उद्धार अभ्यास गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ शेरास्थित चमेलिया नदीमा खोज तथा उद्धार अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
बाढीजन्य विपद् भएका बेला प्रयोग गर्नका लागि जिल्लामा उपलब्ध भएको ‘रबरबोट’लाई परीक्षण गर्न खोज तथा उद्धार अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारबाट आएको जनशक्ति समेत सहभागितामा अभ्यास गरिएको हो ।
तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई गत फागुनमा ‘रबरबोट’ प्राप्त भएको थियो ।
बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा उद्धार गर्न तालिमप्राप्त जनशक्तिको सहभागितामा अभ्यास गरिएको हो । तालिमप्राप्त जनशक्तिले झुलाघाटस्थित सशस्त्र प्रहरीका जवानहरुलाई समेत ‘रबरबोट’ सञ्चालनका बिषयमा प्रयोगात्मक सीप सिकाएको प्रमुख जिल्ला पन्थीले बताए । रबरबोट परीक्षण र अभ्यासलले आगामी दिनमा तटीय क्षेत्रमा हुने विपद्जन्य घटनामा उद्धारका लागि सहयोग पुर्याउने आसा गरिएको उनले बताए ।
अभ्यासमा दशरथचन्द नगरपालिकाका प्रतिनिधि, रेडक्रस, जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीयलगायतको सहभागिता रहेको थियो । जिल्ला प्रशासनलाई उपलब्ध भएको रबरबोट परीक्षणपश्चात झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीलाई हस्तान्तरण गरिएको छ । अब रबरबोट बिओपीमै रहने विपद्को समयमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।