Sagun Khabar
दार्चुलाको महाकालीमा नगर बस सरर, बैतडीमा कहिले चल्छ ?

बैतडी- दार्चुलाको महाकाली नगरपालिकाले नगर बस सेवा सञ्चालन गरेपछि सहज भएको छ । सदरमुकाम खलंगा देखि वडा नं ९ बेत सम्म नगर बस सञ्चालन हुँदा नागरिकहरुलाई अहिले  यात्रा गर्न  सहज भएको हो । जिल्ला सदरमुकाम खलंगा देखि वडा नं ९ बेत सम्म नगरबस सेवा सञ्चालन भए पछि यात्रा गर्न निकै  सहज भएको  स्थानीय त्रिलोक सामन्तले  बताए ।

‘बस सेवाले  धेरै सहज छ, बहुत सुविधा छ,’ यात्रा गर्नलाई,’ उनले भने । त्रिलोक सामन्त पहिले निजी सवारी साधनमा यात्रा गर्दथे तर अहिले नगरबसमा यात्रा गर्दछन् । नगरबसको यात्रा आरामदायी हुने गरेको उनले बताए । महाकाली नगरपालिकाले गत बैशाख देखि नगरबस सञ्चालनमा ल्याएको थियो ।

नगरपालिकाले जिल्लामै पहिलोपटक नगरबस सञ्चालनमा ल्याएर सेवा दिन थालेपछि सहज भएको अर्का स्थानीय बहादुर सिंह चैसिरले बताए । ‘निजी सवारीसाधन रोकीदैन थिए, यात्रा गर्दा गाडी मिल्छकी मिल्दैन ?  भन्ने हुन्थ्यो, अहिले नगरबस टाइममा आउँछ, यात्राका लागि सहज छ,’ उनले भने । नगरबासीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बस सेवा सुरु गरिएको थियो ।

अहिले नागरिक पनि सेवा पाउँदा खुसि छन । नगरबस सञ्चालनपछि आरामदायी यात्रा गर्न मिलेको स्थानीय चन्द्र सिंह बोहराले बताए । ‘भाडामा नी अन्तर छ,बस्नका लागि ठाउँपनि मिल्छ, नगरबसले सहज गरेको छ,’ उनले भने ।  महाकाली नगरपालिकाको वडा नम्बर ४ खलंगा देखि वडा नं ९ बेत सम्ममात्रै अहिले नगरबस सेवा सञ्चालन छ ।   अझै यसको सेवा क्षेत्र फराकिलो गरिने नगरपालिकाले जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिकामा  बस  सेवा सञ्चालन गरेर नागरिकहरुलाई सेवा प्रवाह भइरहेपनि पनि बैतडीका स्थानीय तहले भने सञ्चालन गर्न सकेका छैनन् । दशरथचन्द नगरपालिकाले नगरबसको अवधारणा अघि सारेको थियो तर अहिले सम्म सञ्चालनमा भने  आउन सकेको  छैन् । नगरबस सञ्चालनका लागि नगरपालिकाले ५५ लाख बजेट विनियोजन गरेपनि खरिद गर्न नसकिएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताए ।

चालु आर्थिक वर्षमा नगरबस सञ्चालनका लागि ५५ लाख बजेट विनियोजन गरिए पनि अर्थ मन्त्रालयले संघीय अनुदानको पैसाबाट सवारीसाधन खरिद नगर्न भनेपछि खरिद प्रकृया रोकिएको उनले बताए । 

यस्तै अन्य नगरपालिकाहरुले  नगरबसका बारेमा कुनै योजना  बनाएका छैनन् । नगरबस सञ्चालनका लागि त्तकाल कुनै योजना नबनेको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए । मुख्य राजमार्ग संग जोडिएको पालिकाहरुले नगरबसको योजना समेत नबनाउनु दुःखद भएको स्थानीय हेमन्त भट्टले  बताए । नागरिकरुले  नगरबस सेवा सञ्चालन भए  सहज हुने  कुरा गरेपनि यहाँँका स्थानीय  तहहरुले त्यस तर्फ  ध्यान दिन सकेका छैनन् ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update