बैतडी –सुदूरपश्चिमका विभिन्न जिल्लामा नयाँ बर्ष अर्थात ‘बिसु’को रौनक छाएको छ । परदेश भएकाहरु घर फर्किरहेका छन् । तर बझाङको केदारस्युँ गाउँपालिका ५ स्थित बाँझ गाउँ भने शोकमा डुबेको छ ।
मंगलबार राति भएको जिप दुर्घटनामा बाँझ गाउँका ६ जनाको एकै चिहान भएपछि गाउँ नै शोकमा डुबेको छ । भारतमा मजदुरी गरेर बिसुका लागि घर फर्किरहेका सवार जिप दुर्घटना परेपछि ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । ‘अहिले गाउँमा रुवाबासी चलेको छ । बिसु मनाउने भनेर घर फर्केका हौं । संगैका ६ जनाको एकै चिहान भएको छ । कसरी दुर्घटना भएको केही थाहा पाएनौं ।’हाम फालेर ज्यान जोगाएका जंगी बोहराले भने, ‘हाम्रो परिवारको खुसी खोसियो । बिसुका लागि घरपरिवारसंग भेट गर्ने आसाका साथ फर्किएका साथीहरुको खुसी लुटियो ।’
राति अबेर भएपछि जिपमा सवार रहेका मजदुरहरुले खोड्पे बस्न आग्रह गरेका थिए । तर जिप चालकले नमानेपछि राति नै खोड्पेबाट जिप बझाङका लागि हिड्यो । त्यसको केही मिनेटपछि जिप दुर्घटनामा परेको बोहराले बताए ।
बिसुको मुखमा एकै गाउँका ६ जनाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको केदारस्युँ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहनसिंह ठगुन्नाले बताए । अहिले चौंडेल्ली र बाँझ गाउँ शोकमा डुबेको उनले बताए । उनले भने ‘एकै गाउँका ६ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँमा रुवाबासी चलेको छ । हामी अहिले घटना भएको ठाउँतिर गइरहेका छौं । दुखद घटनाका कारण यो बर्षको बिसु खल्लो भएको छ ।’
सुदूरपश्चिममा नयाँ बर्षलाई बिसु पर्वको रुपमा मनाउने भएकाले रोजगारीका लागि भारतमा रहेकाहरु पनि घर फर्कने गरेका छन् । नयाँ बर्ष अर्थात बिसु घरपरिवारसंगै मनाउने बाँझ गाउँका ६ जनाको धोको अधुरै रहेको छ । मजदुरी गरेर परिवारको खुसीका लागि घर फर्केकाहरु कहिले नफर्कने गरि अस्ताएपछि गाउँको वातावरण नै शोकमय भएको छ ।
मंगलबार राति जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ झौलेकमा भएको जिप दुर्घटनामा एकै गाउँका ६ जनाको दुखद निधन भएको हो भने ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् ।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।
जिप चालक भने अर्जुन बोहरा भने अहिले सम्म फरार रहेका छन् ।





