Sagun Khabar
बैतडीमा ‘ओभरलोड’ बोकेर  हुइकिन्छन गाडी, चेकजाँच गर्दैन प्रहरी
तस्बिरःमहेश भट्टको फेसबुकबाट

बैतडी- बैतडीमा क्षमता भन्दा बढी यात्रु र समान बोकेर गाडी सञ्चालन हुने गरेका छन् । यहाँका मुख्य राजमार्ग तथा कच्ची सडकमा यातायात व्यवसायीले पैँसाको  लालचमा ओभरलोड बोकेर गाडी सञ्चालन गर्ने गरेका हुन् । तर चेकजाँचमा प्रहरीले  ध्यान दिने  गरेको छैन्  । यातायात व्यवसायीले ६ सिट क्षमता भएको गाडी १४ जना प्यासेन्जर बोकेर सञ्चालन गरेपनि प्रहरी प्रशासन मौन बस्ने  गरेको छ ।

मंगलबार मध्यरातमा बैतडीमा जिप दुर्घटनामा पर्यो । सो जिप झुलाघाटबाट यात्रु लगेर बझाँङ गइरहेको थियो । बझाँङको केदारस्यूका ११ जना जिप रिर्जभ गरेर घर जाँदै थिए । सो जिप राति ११ बजे पाटन ८ झौलेक भिरमा दुर्घटनाग्रस्त भयो । ५ जनाले हामफालेर ज्यान जोगाए भने ६ जनाको घटना स्थलमै मृत्यु भयो । 

मजदुरी गरेर भारतबाट बिसु मनाउन  घर पर्केका थिए  उनिहरु । बझाङको केदारस्यू गाउँपालिका ५ बाँझ एकै गाउँका  ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामीले घट्नास्थलमै मृत्युवरण गरे । 

झुलाघाट बाट अप्राहन्न नै यात्रु र  सामान भरेर  छुटेको थियो दुर्घटनामा परेको जिप । क्षमता भन्दा बढी यात्रु र सामान बोकेर छुटेको जिप कुनै ठाउँमा चेकजाँच गरिएन । प्रहरी प्रशासनले चेकजाँच नगर्दा राती दुर्घटना भएको भन्दै अहिले  सर्वत्र आलोचना भइरहेको छ । ठेलमठेल सामान र यात्रु बोकेर बझाँङका लागि छुटेको जिपमा न त सीमा प्रहरीको दृष्टि गयो न त राजमार्गमा डिउटीमा खटिएका प्रहरीको । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिपको  तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ । सो तस्बिर पोष्ट्याएर  नागरिकहरु प्रहरीको कमजोरी भन्दै प्रश्न गरिरहेका छन् ।

चेकजाँच नै नगरी जिप छोड्ने गरेको भन्दै अहिले प्रहरी प्रशासनको आलोचना भइरहको छ भने डिउटिमा खटिएका प्रहरीलाई कारवाहीको समेत माग गरिएको छ । गलत नियतले सञ्चालन गरेका गाडीलाइ प्रहरीले संरक्षण गर्ने गरेको नागरिकहरुको आरोप छ । 

बैतडीमा चैत २० गते पनि देहीमाण्डौं गिरेगडा सडकमा  जिप दुर्घटनामा परेको थियो । सो जिपमा पनि १४ जना सवार थिए । पञ्चेश्वर ५ नेटामा जिप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको ज्यान गएको  थियो भने १४ जना घाइते भएका थिए । उकालोमा चढाउँदै गर्दा जिपले लोड नतानेपछि दुर्घटना भएको सवार यात्रुहरुको भनाइ थियो । 

जिल्लाका सडकखण्डहरुमा जिप व्यवसायीले क्षमता भन्दा बढी यात्रु बोक्ने  गरेपनि प्रहरीले चेकजाँचमा ध्यान नदिने  गरेको हो । यसरी क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना  भइरहेका छन् । ट्राफिक प्रहरीलाई छलेर  जिप व्यवसायीले गाडी सञ्चालन गर्ने गरेका स्थानीय उद्दव पार्कीले बताए । यातायात व्यवसायीले पैसा कमाउनकै लागि क्षमता भन्दा बढी यात्रु बोक्ने गरेकाले दुर्घटना हुने गरेको उनले बताए ।

 यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले चेकजाँचमा कडाइ गर्ने  गरको बताउँने  गरेको  छ । प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेको बताइरहेपनि सडक दुर्घटना बढीरहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update