Sagun Khabar
बैतडी : स्थानीय तहका कार्यक्रम पुरानै 

बैतडी –बैतडीका १० स्थानीय तह मध्ये ९ ओटा स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याईसकेका छन् । नीति तथा कार्यक्रम र बजेट ल्याएका स्थानीय तहहरुले अधिकाँश पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । पछिल्लो दुई बर्ष यता कोरोना भाईरसको महामारी फैलिएकाले स्थानीय तहहरुले कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेको बताएका छन् । 

स्वास्थ्य क्षेत्र अन्तर्गत कोरोना नियन्त्रणका लागि बजेटको व्यवस्था गरिएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए । उनले भने ‘धेरै कार्यक्रम दोहरिएका छन् । कोरोना नियन्त्रणलाई हामीले प्राथमिकतामा राखेका छौं ।’

यस्तै पुर्चौंडी नगरपालिकाले विपद् व्यवस्थापन कोषमा एक करोड विनियोजन गरेको र त्यसैबाट कोरोना नियन्त्रणमा खर्च गरिने नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन् । उनले भने ‘हामीले विद्युत विस्तारलाई प्राथमिकतामा राखेका छौं । अन्य कार्यक्रम पुरानै दोहरिएका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै मेलौली नगरपालिकाले पनि अधिकांश पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । धेरै जसो पुराना कार्यक्रमहरुलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम र बजेट आएको उपप्रमुख राधा ओझाले बताइन् ।

जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि अधिकांश पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिने हिसाबले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । कोरोनाका कारण रोजगारी गुमाएर फर्केकाहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउन कृषि क्षेत्रमा जोड दिएको उपप्रमुख मीना चन्दले जानकारी दिइन् । उनले भनिन् ‘युवाहरुलाई कृषिसंग जोड्ने हिसाबले कार्यक्रम ल्याएका छौं । अन्य कार्यक्रम पहिला जस्तै छन् ।’

जिल्लाको सुर्नया गाउँपालिकाले पनि अधिकांश पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले जानकारी दिए । आगामी आर्थिक बर्षमा कोरोना नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको उनले बताए । उनले भने ‘एकघर एक करेसाबारी जस्ता केही कार्यक्रम नयाँ ल्याएका छौं । अन्य कार्यक्रमहरु विगत जस्तै सञ्चालन हुनेछन् ।’

यस्तै जिल्लाको सिगास गाउँपालिकाले पनि विगतकै कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ । उपाध्यक्ष द्रोपती चन्दले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रमा अधिकांश कार्यक्रमहरु पुरानै रहेका छन् । 

जिल्लाको शिवनाथ गाउँपालिकाले पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘हामीले कोरोनाका कारण रोजगारी गुमाएर फर्केकाहरुलाई रोजगारी दिने खालका कार्यक्रम पनि ल्याएका छौं ।’उपाध्यक्ष कुस्मा चन्दले भनिन् ‘अन्य कार्यक्रमहरु विगतकै निरन्तरता दिएका छौं ।’

यस्तै दोगडाकेदार गाउँपालिकाले पनि अधिकाँंश पुरानै कार्यक्रमलाई दोहर्याएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् । उनले भनिन् ‘केही कार्यक्रम नयाँ भएपनि धेरैजसो पुरानै कार्यक्रम दोहरिएका छन् ।’

यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाले पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको ४ बर्ष पूरा भईसकेको भएपनि खासै परिवर्तन भने नआएको नागरिकले गुनासो गरेका छन् । पछिल्लो समयमा स्थानीय सरकारहरु विभिन्न कारणले आलोचित बन्दै गएका छन् । 
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update